काठमाडौं ।
आगामी फिल्म ‘द ब्ल्यू लाइट’को गीत ‘कुन हावाले’ सार्वजनिक गरिएको छ। निर्माण पक्षले आज युट्युब च्यानल ‘मौरी पिक्चर्स’मार्फत गीत सार्वजनिक गर्दै फिल्मको भावनात्मक पक्ष उजागर गरेको हो।
गीतमा सितुस्मा अधिकारीको शब्द, एसडी योगीको संगीत र सलिना बिकेको स्वर रहेको छ। अधुरा सपना, तोडिएका वाचा र विश्वासघातबाट जन्मिएको पीडालाई गीतले गहिरो रूपमा प्रस्तुत गरेको छ। सपना साकार हुन नपाउँदै भत्किएको संसार, पूरा नहुने प्रतिबद्धता र त्यसबाट उत्पन्न छटपटाहट गीतको मूल भाव हो।
हराएको प्रेमीको खोजी र पर्खाइमा रहेको व्यक्तिको मानसिक अवस्था, पल–पलमा टुक्रिँदै जाने मनोदशा र चोखो प्रेमको गहिराइ नबुझ्ने पात्रबीचको अन्तरलाई गीतले मर्मस्पर्शी ढंगले उजागर गरेको छ।
गीतको भिडियोमा आयुष्मान देशराज जोशी, बेनिशा हमाल, अर्पण थापा र सृष्टि श्रेष्ठ देखिएका छन्। वियोगान्त भाव बोकेको गीतले चलचित्रको कथावस्तुप्रति संकेत गर्दै प्रेमलाई पूजा गर्ने र खेलवाड सम्झने पात्रबीचको द्वन्द्व झल्काएको छ।
साइकोलोजिकल थ्रिलर विधामा निर्माण भएको ‘द ब्ल्यू लाइट’मा बेनिशा हमाल, अर्पण थापा, आयुष्मान देशराज जोशी, सृष्टि श्रेष्ठसँगै महेश त्रिपाठी र सुरक्षा इटानी मुख्य भूमिकामा छन्। बाल कलाकारका रूपमा ग्रिस्मा कटुवाल र सहारा शर्माको पनि अभिनय रहेको छ।
माघ १६ गते प्रदर्शनमा आउने फिल्मको निर्देशन बलिराम चौहानले गरेका हुन्। स्काइफल पिक्चर्सको प्रस्तुतिमा बनेको यस फिल्मका सह–निर्माता भोलानाथ कटुवाल र रमन ग्रे हुन् भने छायाकार नरेन्द्र मैनाली र अभिनेत्री बेनिशा हमाल कार्यकारी निर्माताका रूपमा छन्। फिल्मको छायांकन नरेन्द्र मैनालीले गरेका छन्। आकाश उखेडा मुख्य सहायक निर्देशक, रेलिजा श्रेष्ठ प्रोडक्सन डिजाइनर र दिलीप पन्त निर्माण नियन्त्रक रहेका छन्।