फिल्म ‘मिरमिरे’को सार्वजनिक ट्रेलरमा एक बाल कलाकारको अभिनयले दर्शकको ध्यान खिचेको छ। अभिनेता दयाहाङ राईसँग समानान्तर रूपमा देखिएकी ती बाल कलाकार दयाहाङकी छोरीको भूमिकामा प्रस्तुत भएकी छन्।
दयाहाङकी छोरीको भूमिकामा देखिएकी बाल कलाकार हुन् शाइसा गौचन। आमाको अभाव महसुस गर्दै बुवासँग हुर्किरहेकी छोरीको चरित्रमा शाइसा प्रस्तुत भएकी छन्। सानैमा आमाले छोडेर गएपछि बुवाको संरक्षणमा हुर्किरहेकी छोरीको भावनात्मक यात्रालाई उनले ट्रेलरमै प्रभावशाली रूपमा देखाएकी छन्।
आमाको अभावमा छोरीले भोग्ने पीडा र संवेदनशीलतालाई शाइसाले स्वाभाविक रूपमा प्रस्तुत गरेकी भन्दै दर्शकले उनको अभिनयको प्रशंसा गरिरहेका छन्। पोखराकी शाइसा ‘मिरमिरे’बाट फिल्ममा डेब्यु भने होइनन्। यसअघि उनले ‘महाभोज’ र ‘बरिष्ठ बलराम’ फिल्ममा छोटो भूमिका निभाइसकेकी छन्।
फिल्मका लेखक तथा निर्देशक यम शेर्पाका अनुसार शाइसा र दयाहाङबीचको पहिल्यैको कार्यअनुभवले ‘मिरमिरे’मा काम गर्न सहज भएको हो। “यसअघि पनि शाइसाले दयाहाङ दाइसँगै काम गरिसकेकाले सुरुदेखि नै सहजता भयो,” यमले भने, “नत्र सुरुसुरुमा बाल कलाकारसँग तालमेल मिलाउन गाह्रो हुन सक्थ्यो।”
शाइसाको अभिनय सबै उमेर समूहका दर्शकले मन पराउनेमा आफू विश्वस्त रहेको निर्देशक यमको भनाइ छ।
यम शेर्पाको लेखन तथा निर्देशन रहेको फिल्म ‘मिरमिरे’ माघ १ गतेबाट प्रदर्शनमा आउने तयारीमा छ। यार्सा फिल्मसको प्रस्तुति रहेको यस फिल्ममा दयाहाङ राई, प्रकाश सपूत, सिर्जना निङलेखु, माओत्से गुरुङ, छुल्ठिम गुरुङ, भोलाराज सापकोटा, विमल यादव, शाइसा गौचन, दिविशा पन्त, चिराग श्रेष्ठ र नमनराज गजुरेलको अभिनय छ।
निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङछिरिङ शेर्पा निर्माता रहेको फिल्मका सह–निर्माता गोविन्द बोहरा र सुदीप कुँवर हुन्। कार्यकारी निर्मातामा आरआर फिल्मसका सञ्चालक तथा वितरक रोहित कट्टेल छन्।
वीरेन्द्र शाही लाइन प्रोड्युसर रहेको फिल्ममा सुदीप कुँवर मुख्य सहायक निर्देशक, सञ्जु थलाङ लिम्बू मेकअप आर्टिस्ट र दिलीप पन्त निर्माण नियन्त्रक रहेका छन्।
फिल्म ‘मिरमिरे’को देशभर वितरणको जिम्मेवारी आरआर फिल्म्स (रोहित कट्टेल र रत्न श्रेष्ठ) ले लिएको छ।