सेभेन सिज सिनेमाको प्रस्तुतिमा निर्माण भइरहेको फिल्म ‘रोल नं. १’ को पहिलो चरणको छायांकन सम्पन्न भएको छ।
म्याग्दीका विभिन्न रमणीय तथा ग्रामीण भेगमा करिब डेढ महिना (४२ दिन) लगाएर फिल्मको मुख्य भाग खिचिएको हो। दुई साताको वर्कसपपछि गत मंसिर १५ गतेदेखि म्याग्दीबाट सुरु गरिएको छायांकन ४५ दिनको तालिकामा तय गरिएको थियो।
निर्माता विनोद पौडेलका अनुसार प्रतिकूल मौसम र प्राविधिक चुनौतीका बाबजुद निर्धारित समयकै आसपासमा पहिलो चरणको छायांकन पूरा गरिएको हो। उनले हिमाली जिल्ला म्याग्दीको अत्यधिक चिसोले छायांकन टोलीलाई निकै सास्ती दिएको बताए।
“हामी ४५ दिनको तालिका लिएर निस्केका थियौं, ४२ दिनमै म्याग्दीको सेड्युल सक्यौं। कलाकारभन्दा पनि प्राविधिक टोलीलाई चिसोले बढी गाह्रो बनायो,” पौडेलले भने, “विशेषगरी रात्रीकालीन दृश्यहरू खिच्दा १० बजेपछि तापक्रम निकै घट्ने भएकाले काम गर्न कठिन हुन्थ्यो।”
फिल्मको गुणस्तरमा कुनै सम्झौता नगरिएको उल्लेख गर्दै पौडेलले केही दिनको विश्रामपछि बाँकी दृश्यहरूको छायांकन काठमाडौँमा सुरु गरिने जानकारी दिए।
जोन योञ्जनको निर्देशन तथा कथामा तयार भइरहेको ‘रोल नं. १’ पूर्ण रूपमा बाल मनोविज्ञानमा आधारित फिल्म हो। विद्यार्थीहरूमा देखिने सामाजिक दबाब, झूटो प्रतिष्ठा र ‘जित्नैपर्ने’ मानसिकताले पार्ने प्रभावलाई फिल्मको मुख्य विषय बनाइएको छ।
गत वर्ष सार्वजनिक गरिएको फिल्मको फर्स्टलुक पोस्टरमा कक्षाकोठामा हात उठाएर उपस्थिती जनाइरहेको एक बालकको दृश्य देखाइएको थियो, जसले दर्शकको ध्यान खिचेको थियो।
फिल्ममा मुकुन भुसाल, सुशांक मैनाली, रेणु योगी, सिर्जना अधिकारी र निर्भिक रेग्मी मुख्य भूमिकामा छन्। बाल शिक्षा र मनोविज्ञानजस्तो गम्भीर विषयलाई व्यावसायिक ढाँचामा प्रस्तुत गर्न लागिएको यो फिल्मलाई अर्थपूर्ण सिनेमा रूपमा हेरिएको छ।
फिल्मको प्रदर्शन मिति भने हालसम्म तय गरिएको छैन। सम्पूर्ण छायांकन र पोस्ट–प्रोडक्सनको काम सकिएपछि मात्रै रिलिज मिति घोषणा गरिने निर्माण टिमले जनाएको छ।