एक्सन–ड्रामा जनराको फिल्म ‘हन्टर’ को छायांकन सम्पन्न भएको छ। पश्चिम नेपालका विभिन्न स्थानमा खिचिएको यो फिल्म ४५ दिनमा इन्डक्ल्याप गरिएको निर्माण पक्षले जनाएको छ।
फिल्मलाई जीवन सिंहले निर्देशन गरेका छन्। ‘हन्टर’ उनको निर्देशनमा बनेको डेब्यू फिल्म हो। क्याच कक इन्टरटेनमेन्ट प्रालिको प्रस्तुतिमा निर्माण भएको यस फिल्ममा निर्देशक सिंह स्वयं लेखक र सम्पादक पनि रहेका छन्।
फिल्मले सुदूरपश्चिम क्षेत्रको कथालाई केन्द्रमा राख्नेछ। निर्देशक सिंहका अनुसार ‘हन्टर’ एक्सन इन्टरटेनर हुनेछ र वास्तविक पात्रको कथाबाट प्रेरित छ। यद्यपि कथामा फिक्सनको प्रयोग गरिएको उनले बताएका छन्।
फिल्मको मुख्य भूमिकामा अरुण क्षेत्री छन्। उनका साथमा प्रकाश साह, गरिमा शर्मा, सरोज खनाल, रुजा राउत, सुप्रज्ञा शर्मा, रमेश बुढाथोकी, सुशील पोखरेल, रोशनी दाहाल, सोनी लगुन र गीता अधिकारीको अभिनय रहेको छ।
कृष्ण थापा डीओपी रहेको ‘हन्टर’ मा एक्सन निर्देशन शुक्ररा साहले गरेका छन्। विक्रम स्वाँर र सञ्जय खिमजिमको कोरियोग्राफी रहेको फिल्ममा बाबुल गिरीको संगीत समावेश छ।
फिल्ममा ट्राइडेन्ट कन्सेप्टको सहकार्य रहेको छ भने कार्यकारी निर्माता रोयल भिमसेन हुन्। ममता सिंह, गोविन्द राज रोक्का र राज ए भट्ट निर्माता रहेका छन् भने मनीष चन्द सह–निर्माताको रूपमा छन्।
फिल्मको प्रदर्शन मिति हाल तय गरिएको छैन। सम्पूर्ण पोस्ट–प्रोडक्सनको काम सकिएपछि मात्रै रिलिज मिति सार्वजनिक गरिने निर्देशक सिंहले जानकारी दिएका छन्।