१४ औँ नेपाल–अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २ माघबाट सुरु

0 Shares

काठमाडौँ, ३० पुस — यही शुक्रबार २ माघदेखि सोमबार ५ माघसम्म चार दिनसम्म १४ औँ संस्करणको नेपाल अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव–२०२६ आयोजना हुन लागेको छ। यस पटक महोत्सवमा नेपालसहित २० देशका ४३ वटा चलचित्र छनोट भएका छन्।

चलचित्र विकास बोर्ड, चावहिल, काठमाडौँमा हुने महोत्सवमा नेपाली समूहबाट करिब चार दर्जनभन्दा बढी चलचित्र, वृत्तचित्र र लघु चलचित्रबाट २० वटा छनोट भएको छ। महोत्सव निर्देशक डब्बु क्षत्रीका अनुसार नेपाली कथानक चलचित्रमा १३ वटा फिल्मबाट पाँच फाइनल फिल्म चयन भएका छन्।

नागरिक र दर्शकले हेर्न पाउने नेपाली फाइनल फिल्महरूमा मिलन चाम्स निर्देशित अञ्जिला, सरोज पौडेलको कोशेढुँगा, ऋषि लामिछानेको माग्ने राजा, दीपक प्रसाद आचार्यको परान, र नर प्रधान (मित्र) को यो मन त मेरो नेपाली हो छन्।

वृत्तचित्रमा भिम लाल श्रेष्ठको अरिंगाल म्यान, रमेश खड्का निर्देशित डान्सिङ इन फायर, र निशा मानन्धरको अ बडी नट माइन्ड चयन भएका छन्। विद्यार्थी र खुला समूहको लघु चलचित्रमा १० वटा फिल्म प्रदर्शन हुनेछन्, जसमा अ कलरफुल नाइट, अन्त वार्ता, पेज फाइभ, इकोज अफ होप, भुवा, मौनता, अवशेष, साईलेन्ट स्कार्ड, र दृश्य रहेका छन्। आदिवासी समूहबाट तीन फिल्म प्रतिस्पर्धा गर्दैछन्।

अन्तर्राष्ट्रिय समूहमा १९ देशका २३ वटा लघु फिल्म छनोट भएका छन्। यसपटक ४० भन्दा बढी देशबाट करिब ९० वटा आवेदन आएका थिए। चयनित फिल्महरूमा इन्डोनेसियाको इक्लिप्से, ताइवानको द इल्डर क्र्याब, टर्कीको आई एम नट वर्क एनिमोर, सर्भियाको कास्ट, अमेरिका बाट ग्राम्पी ओल्ड म्यानद जब, बंगलादेशको नो डाइसलेटर अफ द फलेन लभर्स, फ्रान्सको अगस्ट १७ एट फाइभ पी एम, भारतको ब्ल्यु, हङकङको पेपर रिङ लगायत रहेका छन्।

अन्तर्राष्ट्रिय कथानक फिल्ममा बंगलादेशको मेमोरी अफ ग्लुमी मन्सुन र कोष्ट डि आइभोरीको साईलेन्स मोर्टेल अन्तिम प्रतिस्पर्धामा छन्। अन्तर्राष्ट्रिय वृत्तचित्रमा युक्रेनको द स्केडुल अफ फाइटिङ टु लर्न, स्टोनियाको अटिस्ट अफ सर्भिलय, र जर्मनीको गर्ल्स डन्ट प्ले स्पोर्ट्स रहेका छन्। अफ्रिकन फिल्ममा इजिप्टको द मंकी, ट्युनिसियाको मेट्रो पोलिस, र मोरक्कोको द चेम्बर प्रतिस्पर्धामा छन्।

महोत्सवमा नृत्य प्रशिक्षणमा ३० जना सहभागी हुनेछन्। यसका लागि नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान र चलचित्र विकास बोर्डको सहकार्यमा तालिम सञ्चालन हुनेछ। महोत्सव स्थलमा सिनेमा, कल्चर एन्ड नेचर शीर्षकमा चार दिनसम्म चित्रकला प्रदर्शनी पनि आयोजना हुनेछ। यस पटक १० जना विदेशी चलचित्रकर्मी पनि उपस्थित हुनेछन्।

निर्देशक डब्बु क्षत्रीका अनुसार, पछिल्लो वर्षदेखि नेपाल अफ्रिका चलचित्र महोत्सवलाई विश्वव्यापी स्तरमा विस्तार गर्ने उद्देश्यसहित नेपाल अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको नामकरण गरिएको हो।

सम्बन्धित समाचार

सबै