काठमाडौँ — दिव्यासी फिल्म्सको निर्माण चलचित्र ‘परिवर्तन’ को ट्रेलर छोटो समयमा नै ११ लाखभन्दा बढी भ्युज प्राप्त गरेको छ। गत सोमबार रिलिज भएको ट्रेलरलाई ११ लाख २० हजारभन्दा बढी पटक हेरिएको छ। यसलाई १५ हजारले लाइक गरेका छन् भने १२ सय ३३ जनाले कमेन्ट गरेका छन्।
दर्शकहरूको प्रतिक्रियाले निर्माण पक्ष उत्साहित बनेको छ। कमेन्टहरूमा सुशील श्रेष्ठको एक्सन, अञ्जना बराईलीको प्रहरी इन्स्पेक्टरको भूमिका र फिल्मको डाइलग विशेष रूपमा सराहना गरिएको छ।
ट्रेलरमा फिल्मको एक्सन–सस्पेन्स कथावस्तु, द्वन्द्व दृश्य र पात्रहरूको सम्बन्ध प्राथमिकतामा प्रस्तुत गरिएको छ। निर्देशक विजय केरुङका अनुसार फिल्मले केवल मनोरञ्जन मात्र नभई सामाजिक सन्देश पनि बोकेको छ।
चलचित्रमा सुशील श्रेष्ठलाई शक्तिशाली एक्सन अवतारमा प्रस्तुत गरिएको छ। दर्शकहरूले उनलाई एक्सन स्टारको रूपमा स्वीकार्न थालेका छन्। अञ्जना बराईलीको यो पहिलो प्रहरी इन्स्पेक्टरको भूमिका पनि दर्शकको सकारात्मक प्रतिक्रियाले चर्चामा छ।
ट्रेलरमा सुशील र अञ्जनासँगै सरोज खनाल, करिश्मा मानन्धर, बुद्धि तामाङ, हेमन्त बुढाथोकी र सुवास मेचेलाई पनि देख्न सकिन्छ।
‘परिवर्तन’ माघ ९ गतेबाट अल नेपाल प्रदर्शनमा आउनेछ। फिल्मको वितरण आर आर फिल्म्सले गर्नेछ भने ओएसआर डिजिटल सहकार्यमा रहेको छ।