नेपाली फिल्ममा दुई नयाँ कथा: ‘कालकट्टी’ र ‘काकाको बिहे’ औपचारिक घोषणा

0 Shares

काठमाडौँ — “समयभन्दा अघि र भाग्यभन्दा बढी केही पनि पाइँदैन” भन्ने उक्ति अब रुपेरी पर्दामा जीवन पाउने तयारीमा छ। लामो समयदेखि साँचेर राखिएको फिल्म निर्माणको सपना साकार गर्दै रघुजी फिल्म्सको ब्यानरमा दुई फरक स्वाद र दुई फरक संसार बोकेका नेपाली फिल्म ‘कालकट्टी’ र ‘काकाको बिहे’ औपचारिक रूपमा सार्वजनिक गरिएका छन्।

लेखक तथा निर्देशक अमरदीप सापकोटा र सञ्चारकर्मी रघुनाथ सापकोटाको सहकार्यमा निर्माण हुन लागेका यी दुई फिल्मले नेपाली फिल्म उद्योगमा नयाँ ऊर्जा, नयाँ सोच र फरक प्रस्तुति ल्याउने अपेक्षा गरिएको छ। निर्माणपक्षले दुवै फिल्मलाई २०८३ सालमा प्रदर्शनमा ल्याउने लक्ष्य राखेको छ।

माघ १ गते टिजर सार्वजनिक गर्दै औपचारिक सुरुवात गर्ने तयारी भए पनि अपरिहार्य कारणवश टिजर रिलिज हुन सकेन। यद्यपि, निर्माण कम्पनीले पोस्टरमार्फत पहिलो झलक सार्वजनिक गर्दै दुवै फिल्मको आधिकारिक घोषणा गरेको छ, जसले फिल्मप्रेमीहरूबीच उत्सुकता थप बढाएको छ।

रघुजी फिल्म्सको ब्यानरमा निर्माण हुने दुई फिल्ममध्ये ‘कालकट्टी’ छायांकन चरणमा प्रवेश गर्न लागेको छ। फिल्मको छायांकन माघ महिनाको अन्त्यतिर सुरु हुने तयारी छ। कलाकार तथा प्राविधिक टोली छनोटको प्रक्रिया हाल तीव्र रूपमा अघि बढिरहेको निर्माणपक्षले जनाएको छ।

फिल्म ‘कालकट्टी’ का निर्माता रघुनाथ सापकोटा हुन् भने कथा, पटकथा, संवाद तथा निर्देशनको सम्पूर्ण जिम्मेवारी अमरदीप सापकोटाले सम्हालेका छन्। फिल्मको छायांकन निसाल पौडेलले गर्नेछन् भने संगीत भीम बिष्टले तयार पार्नेछन्।

फिल्मको वितरण आरआर फिल्म्सले नेपालभर गर्नेछ। साथै, यसको डिजिटल अधिकार ओएसआर डिजिटलसँग सुरक्षित गरिएको छ, जसले फिल्मको बजार विस्तार र पहुँचलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।

पोस्टर सार्वजनिक भएसँगै फिल्मप्रेमीहरूबीच ‘कालकट्टी’ ले कस्तो कथा, द्वन्द्व र सिनेम्याटिक अनुभव प्रस्तुत गर्ने हो भन्ने चासो बढ्दै गएको छ। निर्माण टिमले छिट्टै टिजर तथा थप विवरण सार्वजनिक गर्ने जनाएको छ। ‘कालकट्टी’ को छायांकन तथा रिलिज तयारीसँगै ‘काकाको बिहे’ को छायांकन सुरु गरिने बताइएको छ।

सम्बन्धित समाचार

सबै