फिल्म ‘रमिताको पिरती’का लागि कुशल पोखरेलको ‘फोन नगर’ सार्वजनिक

0 Shares

काठमाडौँ — लोकप्रिय गायक तथा र्‍यापर कुशल पोखरेलले नेपाली फिल्म ‘रमिताको पिरती’ का लागि तयार पारेको गीत ‘फोन नगर’ सार्वजनिक भएको छ। निर्देशक सुदिप्ताको निर्देशनमा बनेको फिल्मको यो गीत माघ १ गते बुटवलमा आयोजित कन्सर्टमार्फत पहिलोपटक सार्वजनिक गरिएको हो।

आगामी माघ २३ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्मको प्रवर्द्धन उद्देश्यले आयोजना गरिएको कन्सर्टमा कुशलले गीत प्रत्यक्ष प्रस्तुत गरेपछि गीतको भिडिओ पनि प्रदर्शन गरिएको थियो। पाँच हजारभन्दा बढी दर्शकको उपस्थितिमा कुशलको प्रस्तुति पछि दर्शकले ‘वान्स मोर’ भन्दै उत्साह व्यक्त गरेका थिए।

गीतमा शब्द र स्वर स्वयं कुशल पोखरेलकै रहेको छ। आधुनिक संगीत स्वादलाई ध्यानमा राखेर तयार गरिएको गीतको संगीत चर्चिल भुसालले गरेका हुन् भने मिक्सिङ र मास्टरिङ केपासले गरेका छन्। गीतको भिडिओमा कुशल पोखरेल र आना शर्मा फिचर्ड छन्। भिडिओको निर्देशन, छायांकन र सम्पादन झोलेइज्मले गरेका छन् भने कोरियोग्राफी जेस्टीको रहेको छ। छायांकनमा जेनिश महर्जन र रचनात्मक निर्देशनमा ऋषिक प्रधान संलग्न छन्।

गीत निर्माणबारे कुशलले निर्माण टिमको लगाव र निर्देशक सुदिप्ताको सक्रियताले आफू सहकार्यका लागि तयार भएको बताए। “हाम्रो भाइब मिल्यो। झन्डै सातौँ ड्राफ्टमा पुगेर शब्दमा सहमति बनेको हो। यो ब्रेकअप स्टोरी भएकाले गीत केटीको दृष्टिकोणबाट तयार गरिएको छ,” उनले भने।

‘फोन नगर’ले युवापुस्ताको ब्रेकअपपछिको भावनात्मक अवस्था बोलेको कुशलको भनाइ छ। करिब एक वर्षअघि सुरु भएको सहकार्य समय लिएर भए पनि बलियो सिर्जना बनेको उनले बताए।

उक्त कन्सर्टमा महेश काफ्ले, समीर श्रेष्ठ, आना शर्मा, जेम्सी र हुलाकीलगायत कलाकारले पनि प्रस्तुति दिएका थिए। निर्माता सागर लम्सालका अनुसार विराटनगर, बिर्तामोड, धरान, पोखरा, धनगढी र काठमाडौंमा पनि कन्सर्ट आयोजना गरिनेछ।

फिल्म ‘रमिताको पिरती’को केन्द्रमा रमिता (आना शर्मा) रहेकी छन्। ब्रेकअप स्टोरीमा आधारित फिल्मले दर्शकलाई फरक स्वाद दिने निर्देशक सुदिप्ताको विश्वास छ। यही फिल्ममार्फत समीर श्रेष्ठ अभिनेताका रूपमा डेब्यु गर्दैछन्। फिल्ममा आना शर्मा र समीर श्रेष्ठसँगै धीरज मगर, विनय श्रेष्ठ, गौमाया गुरुङ, पशुपति राई, रेनु योगीत, गियना र थिन्ले लामालगायत कलाकारको अभिनय रहेको छ।

यसैबीच, फिल्मकै अर्को गीत ‘तिमी भए काफी’ को अंश ‘आउने सालैमा लगनगाँठो, साइत जुराई’ पछिल्लो समय टिकटकमा अत्यधिक चर्चामा छ। लाखौँ भिडिओ बनिसकेको उक्त गीतमा चलेको ‘Adds Your Color’ ट्रेन्ड युवापुस्तामाझ लोकप्रिय बनिरहेको छ। गायक समीर श्रेष्ठको स्वर र साश्वतको संगीत रहेको गीत अहिले रील्स, टिकटक र स्टोरीमा व्यापक रूपमा प्रयोग भइरहेको छ।

फिल्ममा सुशान्त केसी, समीर श्रेष्ठ, महेश काफ्ले, अस्मिता अधिकारी र कुशल पोखरेलको संगीत रहेको छ। शिशिर विषंखे डीओपी, सुनिल सिवाकोटी सम्पादक, कपिल पराजुली कलरिस्ट र कृतिका बराल कोरियोग्राफर छन्। काठमाडौं उपत्यकामा फिल्मलाई रिच इन्टरटेनमेन्ट र एप्पल इन्टरटेनमेन्टले वितरण गर्नेछन् भने उपत्यका बाहिर एफडी कम्पनीले वितरण गर्नेछ।

सम्बन्धित समाचार

सबै