पोखरामा ‘कुमारी’को भव्य कन्सर्ट, ७ हजार दर्शकले उत्साहसाथ सहभागी

0 Shares

पोखरा — माघ २३ गतेबाट प्रदर्शनमा आउन लागेको प्रतीक्षित नेपाली फिल्म ‘कुमारी’को प्रवर्द्धनका लागि शनिवार साँझ पोखराको हल्लनचोकमा आयोजित ‘कुमारी लाइभ म्युजिकल कन्सर्ट विथ केहर एन्ड द लुङा’ भव्य रूपमा सम्पन्न भएको छ। करिब ७ हजार दर्शकको उपस्थितिले कार्यक्रमलाई थप रौनक प्रदान गर्‍यो।

कन्सर्टमा फिल्मका प्रमुख कलाकार अबिशेक खड्का र आकृति राजभण्डारी स्टेजमा देखा पर्दा दर्शकको तर्फबाट हुटिङको वर्षा भएको थियो। उनीहरूले हाल चर्चित गीत **‘डोको बुन्ने निगाली चोयाले’**मा प्रत्यक्ष नृत्य प्रस्तुत गर्दा माहौल अत्यन्त उत्साहित बनेको थियो। कलाकार द्वयले पोखरेली दर्शकको प्रेमप्रति आभार व्यक्त गर्दै माघ २३ गतेदेखि देशभरका हलमा फिल्म हेर्न आग्रह गरे।

साङ्गीतिक माहोललाई तताउन पार्श्व गायक केहर सिं लिम्बु र उनको ब्यान्ड **‘केहर एन्ड द लुङा’**ले फिल्मका गीतहरू ‘डोको बुन्ने…’, ‘कता छौ मेरो फूल’, ‘तिमी बिना’ र आफ्ना चर्चित सिर्जना ‘सरर’ तथा ‘बैगुनी’ प्रस्तुत गरे। पोखरेली दर्शकहरूले संगीतमा मज्जाले झुमेका देखिन्थे।

बिग मार्टको प्रस्तुती र पावर्ड बाईद्वारा आयोजित कन्सर्टको स्थानीय व्यवस्थापन प्रचारले गरेको थियो।

निर्देशक दिनेश राउतले पोखरामा दर्शकको क्रेज देखेर आफू अत्यन्तै पुलकित भएको बताए। स्टेजबाटै दर्शकलाई धन्यवाद दिंदै उनले यो साथले फिल्मप्रति उत्साह थपिएको बताए।

विनिश इन्टरटेन्मेन्टको ब्यानरमा महेन्द्र अधिकारीद्वारा निर्मित फिल्मको टोली अब माघ ६ गते चितवन, १० गते काठमाडौँ र १७ गते झापाको दमकमा पनि प्रदर्शन गर्न तयार छ। आगामी माघ १० गते काठमाडौँको भृकुटीमण्डपमा आयोजना हुने विशेष कन्सर्टमा फिल्मको आधिकारिक ट्रेलर पनि सार्वजनिक गरिने निर्माण पक्षले जनाएको छ।

सम्बन्धित समाचार

सबै