काठमाडौं — निर्देशक सुदीप भुपाल सिंहको सिनेमा ‘श्री बुकुरो : द होम कलिङ’को प्रदर्शन मिति घोषणा गरिएको छ। सोमबार सार्वजनिक गरिएको पोस्टर अनुसार, फिल्म आगामी फागुन १ गतेबाट देशभरका हलमा प्रदर्शनमा आउनेछ।
सिनेमाको पोस्टरमा मुख्य कलाकारहरू समावेश गरिएको स्केच पेन्टिङ शैलीको पोस्टरले दर्शकको ध्यान खिच्न सफल हुने विश्वास निर्माण पक्षको छ। विशुद्ध पारिवारिक र मनोरञ्जनात्मक चलचित्रको रूपमा प्रस्तुत ‘श्री बुकुरो’को पूर्व-प्रकाशित टिजर र पोस्टरले दर्शकको मन जितिसकेको छ।
निर्देशक सुदीप भुपाल सिंह यस सिनेमाबाट ७ वर्षपछि निर्देशनमा फर्किएका हुन्। उनले यसअघि ‘माला’ र ‘रुद्रप्रिया’ निर्देशन गरेका थिए। पछिल्लो समय सामाजिक तथा पारिवारिक कथाका चलचित्रले दर्शकको मन जितिरहेका बेला, ‘श्री बुकुरो’को पारिवारिक कथाले पनि दर्शकको रुचि पाउने विश्वास निर्देशक सिंहको छ।
फिल्म रेञ्जको ब्यानरमा निर्माण भएको यस चलचित्रमा आशीर्वाद क्षेत्री, लक्ष्मी गिरी, निकिता आचार्य, प्रतिकराज आचार्य, रोशनी कार्की, राजन इशान, दीपिका थापा, लय संग्रौला, मोहन निरौला, रामबाबु रेग्मी, रश्मी भट्ट, उत्तम केसी, गीता थापा, सपना श्रेष्ठ, आशिका शाही, दीपक कार्की, र रजिना विश्वकर्माको अभिनय छ। सिनेमाको कथा निर्देशक स्वयंले लेखेका हुन् भने निर्माण रुबी सेन सिंहले गरेकी छन्।
सिनेमाको कोरियोग्राफी सुरज तामाङ र प्रवीण सिंह, भिएफएक्स आईड्रिम एनिमेसन, कलर मनोरञ्जन श्रेष्ठ, सम्पादन बनिष शाह, चन्दन दत्त र परिच्छेद सेनले गरेका हुन्। छायांकन सञ्जय लामा र राजेश श्रेष्ठले गरेका छन्। चलचित्र मुस्ताङ, बाग्लुङ, कास्की, दमौली, मकवानपुर र काठमाडौंमा छायांकन गरिएको छ।
सिनेमाको संगीत रञ्जीत गजमेर, बसन्त सापकोटा र विक्रम कार्कीले तयार पारेका छन् भने स्वरमा शिव परियार, विशेष पौडेल, युक्ति बिमली, सविन सुवेदी र सन्देश पौडेलको आवाज सुन्न सकिन्छ।