काठमाडौं — सुशील श्रेष्ठ र अञ्जना बराईली अभिनित एक्सन–सस्पेन्स चलचित्र ‘परिवर्तन’ले पिजी (PG) सर्टिफिकेट प्राप्त गरेको छ। चलचित्र जाँच समिति (सेन्सर बोर्ड)ले फिल्मलाई पिजी सर्टिफिकेट दिएसँगै माघ ९ गतेबाट देशभर प्रदर्शन हुने निश्चित भएको छ।
निर्देशक विजय केरुङका अनुसार फिल्ममा समसामयिक राजनीतिक विषयवस्तु र केही डर लाग्दा दृश्य समावेश भएकोले १६ वर्षमुनिका दर्शकले फिल्म हेर्न अभिभावकको साथमा मात्र हेर्नुपर्ने सिफारिस गरिएको हो।
फिल्मको ट्रेलर र गीतहरू अहिले दर्शकमाझ चर्चामा छन्। विशेषगरी गीत ‘पाकेको चिउरी’ दर्शकमाझ अत्यधिक लोकप्रिय बनेको छ भने ट्रेलरलाई छोटो समयमा नै ११ लाखभन्दा बढी दर्शकले हेरिसकेका छन्।
चलचित्रमा सुशील श्रेष्ठ, अञ्जना बराईली, सरोज खनाल, करिश्मा मानन्धर, बुद्धि तामाङ, हेमन्त बुढाथोकी, सुवास मेचे लगायतको मुख्य भूमिका छ। दीव्यासि फिल्म्सको ब्यानरमा निर्माण भएको यस चलचित्रलाई निर्माता दीपक सिवाकोटीले निर्माण गरेका हुन्। कथा सिवाकोटीकै रहेको यस फिल्मको पटकथा तथा संवाद शिवम् अधिकारीले लेखेका छन्।
फिल्ममा बन्दे प्रसादको सम्पादन, रामजी लामिछानेको कोरियोग्राफी, एसडी योगीको संगीत र श्री श्रेष्ठको द्वन्द्ध निर्देशन समावेश छ। चलचित्रलाई आर आर फिल्म्सले वितरण गरेको छ भने ओएसआर डिजिटलले सहकार्य गरेको छ।