काठमाडौं — आगामी माघ १६ गते साइकोलोजिकल थ्रिलर चलचित्र ‘द ब्ल्यू लाइट’ देशभर प्रदर्शनमा आउने भएको छ। चलचित्रमा नेपाली फिल्म उद्योगका अनुभवी र लोकप्रिय कलाकारहरूले मुख्य भूमिका निर्वाह गरेका छन्।
चलचित्रमा बेनिशा हमाल मुख्य पात्र ‘माया’को भूमिकामा छिन्, जसले ‘ब्लाइन्ड रक्स’ मार्फत दर्शकमा आफ्नो अभिनय क्षमताको प्रमाण दिएकी थिइन्। अर्का मुख्य कलाकार महेश त्रिपाठी हुन्, जसले ‘हल्कारा’ मार्फत आफ्नो दमदार अभिनय प्रस्तुत गरिसकेका छन्। वर्तमानमा हलमा रहेको ‘परान’मा पनि उनले अभिनय गरिरहेका छन्।
अर्पण थापा, जसलाई नेपाली फिल्म उद्योगका सिमित अब्बल कलाकारहरूमध्ये एक मानिन्छ, यस चलचित्रमा रहस्यमयी भूमिका निर्वाह गर्दैछन्। त्यसैगरी आयुसमान देशराज जोशी, सृष्टि श्रेष्ठ, सुरक्षा इटानी, ग्रिस्मा कटुवाल र सहारा शर्मा पनि यस चलचित्रमा अभिनय गरेका छन्।
चलचित्र बलिराम चौहानले निर्देशन गरेका हुन्। यो उनको डेब्यु निर्देशन हो, यद्यपि उनी चिफ एडीको रुपमा थुप्रै चलचित्रमा काम गरिसकेका छन्, जस्तै ‘बलिदान’को निर्देशन टिममा पनि सहभागी थिए।
चलचित्रको ट्रेलर हालै युट्युबमा सार्वजनिक भएको छ र दर्शकबाट सकारात्मक प्रतिक्रिया प्राप्त भइरहेको छ। ट्रेलरमा रहस्यमयी र अँध्यारो परिवेश, प्रेम, धोका र बदलाको कथा प्रस्ट देखाइएको छ। विशेष गरी अर्पण थापाको रहस्यमयी भूमिका र प्रहरी सोधपुछका दृश्यहरूले सस्पेन्सलाई उचाइ दिएको छ।
निर्देशक चौहानका अनुसार चलचित्रको विषयवस्तु नयाँ नभए पनि प्रस्तुतिको शैली फरक छ। उनी भन्छन्:
“हामीले देखाउन खोजेको विषयवस्तु नयाँ पक्कै पनि छैन, तर हामीले त्यही कुरालाई नयाँ शैलीमा प्रस्तुत गरेका छौँ। यस भित्रका पात्रका संवेग र भावनाहरू उच्च संवेदनशील छन् जसले दर्शकलाई अनौठो अनुभव दिने आशा गर्छौँ।”
चलचित्रलाई भोलानाथ कटुवाल र रमन ग्रे को–प्रोडुसरका रूपमा, नरेन्द्र मैनाली र बेनिशा हमाल कार्यकारी निर्माता रूपमा प्रस्तुत छन्। चलचित्र स्काइफल पिक्चर्सले प्रस्तुत गरेको छ।