माओत्से गुरुङ निर्देशित ‘पेन्सन पट्टा’को छायांकन सकियो, प्रदर्शन मिति पर्खंदै

0 Shares

कास्की — चरित्र अभिनेता माओत्से गुरुङ निर्देशित नेपाली फिल्म ‘पेन्सन पट्टा’ को सम्पूर्ण छायांकन सकिएको छ। मंगलबार कास्कीस्थित एक रिसोर्टमा ३३ दिनको छायांकनपछि इन्डक्ल्याप गरिएको निर्देशक गुरुङले जानकारी दिए।

निर्देशक गुरुङले भने, “यी दिनमा सम्पूर्ण सहयोगी प्राविधिकले रातदिन मेहनत गरेका छन्। उनीहरू सबैलाई धन्यवाद दिन चाहन्छु। अब केही दिनमा पोस्ट प्रोडक्सन सुरु हुनेछ र त्यसको समय अनुसार हामी प्रदर्शन मिति घोषणा गर्नेछौं। हामी दर्शकलाई सुन्दर सिनेमा देखाउन कुनै पनि सम्झौता नगरी काम गरिरहेका छौं।”

फिल्ममा दयाहाङ राई, सुनिल थापा, पशुपति राई, गौमाया गुरुङ, बुद्धि तामाङ, विल्सन विक्रम राई, राज थापा काउछा, लुनिभा तुलाधर, विश्वास गुरुङ, माया गुरुङ, यासिली राई लगायतका कलाकारको अभिनय रहेको छ। निर्देशक गुरुङका अनुसार फिल्मको शिर्षकले भूतपूर्व लाहुरेको कथा सम्झाउने भए पनि कथा लोभी केटा कसरी दानी बन्छ भन्ने वरिपरि घुम्छ।

फिल्मको कथा पनि निर्देशक माओत्से गुरुङले नै लेखेका हुन्। निर्माता टोलीमा मीन कोन्मे गुरुङ (सिकलेस), भोज बहादुर गुरुङ (युके) र सपना गुरुङ रहेका छन्। प्रोडक्सन म्यानेजर डिबी गुरुङ, कास्टिङ निर्देशक सुरज तमु, र संगीत झुमा लिम्बु, मनोज थापा मगर र शिव बराइली ले तयार पारिरहेका छन्।

निर्देशक माओत्से गुरुङको डेब्यु निर्देशनमा निर्माण भएको फिल्म ‘दयारानी’ बक्सअफिस हिट भएको थियो। गुरुङ हाल लेखन, निर्देशन र अभिनयमा सक्रिय छन्।

फिल्मलाई रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्म्स ले देशव्यापी वितरण गर्नेछन्।

सम्बन्धित समाचार

सबै