चलचित्र ‘ऊनको स्वीटर’ अब युट्युबमा

0 Shares

काठमाडौं – नेपाली फिल्म उद्योगको सफलतम र चर्चित चलचित्र ‘ऊनको स्वीटर’ अब डिजिटल प्लेटफर्म युट्युबमा निःशुल्क हेर्न सकिने भएको छ। निर्माण कम्पनी आर्टमाण्डुले आफ्नै आधिकारिक युट्युब च्यानलमार्फत यो चलचित्र विश्वभरका दर्शकका लागि उपलब्ध गराएको हो।

निर्देशक नवीन चौहानका अनुसार, नेपाल र भारतका हलहरूमा लामो समयसम्म सफल प्रदर्शन गरेपछि सबै दर्शकको पहुँचमा पुर्‍याउने उद्देश्यसहित डिजिटल रिलिजको निर्णय गरिएको हो।

यो चलचित्रले नेपालमा करिब १२ करोड रुपैयाँ आम्दानी गरेको थियो। नेपालमा ४० भन्दा बढी हलमा ५१ दिन प्रदर्शन गरेको यस चलचित्रले भारतमा पनि समान उत्साहजनक सफलता हासिल गरेको थियो। भारतमा सिक्किमको गान्तोकसहित दार्जिलिङ, कालिम्पोङ, आसाम, मुम्बई, दिल्ली, पुणे, बैंगलोर र केरला सम्म ४० भन्दा बढी हलमा रिलिज भएको ‘ऊनको स्वीटर’ले ५१ दिनको ऐतिहासिक यात्रा तय गर्यो।

फरक भाषा र परिवेश भए तापनि चलचित्रले प्रस्तुत गरेको भावनात्मक गहिराइले भारतीय दर्शकको मन जित्न सफल भयो।

समय र स्थानका कारण हलसम्म पुग्न नसकेका देश–विदेशका दर्शकले चलचित्रको रि-रिलिजको लगातार माग गर्दै आएका थिए। दर्शकहरूप्रति सम्मान व्यक्त गर्दै आर्टमाण्डुले यसलाई युट्युबमा ल्याएको हो।

चलचित्रमा विपिन कार्की, मिरूना मगर, एलेक्स पारस, परीक्षा लिम्बु, र सुनिल पोखरेलको मुख्य अभिनय रहेको छ। निर्माण पक्षले यो चलचित्रलाई केवल मनोरञ्जन मात्र नभई माटो, सम्झना र सम्बन्धको न्यानो कथाको रूपमा चित्रण गरेको छ।

सम्बन्धित समाचार

सबै