‘भाइरल गोर्खे’ अब भारतका विभिन्न सहरमा रिलिज

0 Shares

काठमाडौं – गत माघ १ गतेदेखि नेपाली हलमा प्रदर्शनमा आएको चलचित्र ‘भाइरल गोर्खे’ अब भारतका विभिन्न सहरमा रिलिज हुन लागेको छ। भोली शुक्रवारदेखि दोस्रो सातामा प्रवेश गर्ने यस चलचित्रको प्रदर्शन भारतमा चाँडै सुरु हुने छ।

निर्माता अमित श्रेष्ठका अनुसार, भारतमा चलचित्र रिलिज गर्न एक कम्पनीसँग मौखिक सहमति भइसकेको छ। केही दिनभित्र उक्त कम्पनी नेपाल आएर लिखित सम्झौतासँग प्रक्रिया अघि बढाउने तयारीमा रहेको बताइएको छ।

चलचित्र भारतको दिल्ली, दार्जिलिङ, सिलिगुडी, गान्तोक, कस्र्याङ, कालिम्पोङ, आसाम लगायत नेपाली भाषी दर्शकको ठुलो बसोबास भएका शहरमा प्रदर्शन हुनेछ। ‘भाइरल गोर्खे’ले नेपालमा उत्कृष्ट दर्शक प्रतिक्रिया पाएपछि वितरकले भारतमा रिलिज गर्ने प्रस्ताव अघि सारेको निर्माण टिमले जनाएको छ।

निर्माण पक्षका अनुसार, भारत रिलिजको सम्पूर्ण तयारी पूरा भइसकेको छ र लिखित सम्झौतासँग प्रक्रिया अघि बढ्ने छ। नेपालका विभिन्न हलमा दर्शकको चाप बढिरहेको छ र टिकट बुकिङ साइटले पनि यसको प्रमाण देखाएको छ।

चलचित्रमा मुख्य पात्र सौगात मल्ल (गोर्खे) को संघर्ष र अनौठा हर्कतलाई सामाजिक सञ्जालमा भाइरल हुने कथा भित्र समेटिएको छ। यसमा सौगातसँगै अभिनेत्री सृष्टि श्रेष्ठ जोडीमा छन्। रोचक ट्रेलरले दर्शकमा चलचित्रप्रति उत्साह सिर्जना गर्न सफल भएको छ।

निर्देशक निगम श्रेष्ठले यसअघि ‘छड्के’, ‘लालपूर्जा’ र ‘छड्के २’ निर्देशन गरिसकेका छन्। उनले ‘भाइरल गोर्खे’ मार्फत आफ्नो निर्देशन क्षमताको पूर्ण प्रदर्शन गर्दै दर्शकलाई मनोरञ्जनका साथ सामसामयिक र घर-घरको कथा प्रस्तुत गर्ने विश्वास व्यक्त गरेका छन्।

चलचित्र एके ब्रदर कम्पनी, द जिएमआई एकेडेमी र निर्भाना फिल्म स्कुलको व्यानरमा निर्माण भएको हो। सौगात र सृष्टिसँगै बुद्धि तामाङ, लक्ष्मी गिरी, राजाराम पौडेल, ऋषि धमला, रवि भुजेल र मिस पवीले अभिनय गरेका छन्।

निर्माता: अमित श्रेष्ठ, विशाल ताम्राकार, महेश लामिछाने, केवल जंग कुँवर।
सह-निर्माता: निर्भाना फिल्म स्कुल, भुवन अधिकारी, निखिल पौडेल।
सिनेमाटोग्राफी: अमर महर्जन।
स्थान: लम्जुङको भुजुङ गाउँ, गोरखा, चितवन।
वितरक: सुनिल मानन्धर, द्वन्द निर्देशक: श्री श्रेष्ठ, एडिटर: बन्दे प्रसाद, सह-निर्देशक: रवि चौधरी, प्राविधिक: भीम विश्वकर्मा।

सम्बन्धित समाचार

सबै