काठमाडौं – फिल्म ‘घरज्वाइँ’ का निर्देशक अनिल बुढा मगरको दोस्रो फिल्म ‘मितज्यू’ को छायांकन औपचारिक रूपमा सुरु भएको छ। वसन्त पञ्चमीको अवसरमा दाङस्थित अम्बिकेश्वरी मन्दिरमा शुभ मुहूर्त गर्दै छायांकनको पहिलो दृश्य खिचिएको निर्माण पक्षले जानकारी दिएको छ।
निर्माता जनक घर्ती मगरका अनुसार, ‘मितज्यू’ सामाजिक कथावस्तुमा आधारित चलचित्र हो र यसको छायांकन दाङ र रोल्पाका विभिन्न स्थानमा हुने छ। धार्मिक विधिपूर्वक पूजा गरेर फिल्मको यात्रा सुरु गरिएको बताइएको छ।
चलचित्रमा दयाहाङ राई, सौगात मल्ल, तेरिया फौजा मगर, पुस्कर गुरुङ, शिशिर वाङ्देल, राज थापा, सुवर्ण थापा, अनु थापा, स्मिता लामिछाने, अरुण पुन मगर, उत्तम राज पाण्डे, सविन कट्टेल, उमेश सोनाम, पवित्रा खड्का, चाहाना राना मगर, अनुशा राई, खड्गबहादुर पुन मगर (खबपु) लगायत कलाकारको मुख्य अभिनय रहने छ।
सहायक निर्देशकमा अनिल दाहाल, सञ्जु नेपाली, एल्मिना राई रहेका छन् भने मुख्य सहायक निर्देशक फिरोज खड्का हुन्। प्रोडक्सन डिजाइनर किशोर नेपाल, ड्रेस डिजाइनर संगीता रोका मगर, सम्पादक लोकश बज्राचार्य, छायाकार शिशिर शिशंखेल, द्वन्द्व निर्देशक प्रभात विष्ट, साउन्ड डिजाइनर नवीन श्रेष्ठ, र संगीत श्रीकृष्ण बम मल्ल रहनेछन्।
निर्माण पक्षका अनुसार, आरआर फिल्म्स द्वारा वितरण हुने यो फिल्म आगामी जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा प्रदर्शनमा आउनेछ।