काठमाडौं – अभिनेता अर्पण थापाले आफ्नो नयाँ चलचित्र ‘फ्रेन्च किस’ निर्माण हुने औपचारिक घोषणा गरेका छन्। ए.टी.एफ. प्रोडक्सन प्रा.लि.को ब्यानरमा निर्माण हुन लागेको यस फिल्मको शुभमुहूर्त शुक्रबार काठमाडौंको कमलादीस्थित गणेश मन्दिरमा सरस्वती पूजा (वसन्तपञ्चमी) को अवसरमा गरिएको हो।
थापाले यस चलचित्रमा निर्देशन स्वयं गर्ने छन् र मुख्य भूमिकामा समेत देखिनेछन्। चलचित्रको छायांकन सोमबारदेखि चितवनका विभिन्न स्थानहरूमा सुरु हुनेछ।
चलचित्रमा मुख्य भूमिकामा थिन्ले ल्हामो रहनेछिन्, जसले अन्तर्राष्ट्रिय स्तरमा चर्चित चलचित्र ‘शाम्बाला’ मार्फत ख्याति कमाएकी छिन्। थिन्लेले स्वीट्जरल्यान्डको ७७औँ लोकार्नो फिल्म फेस्टिभलमा उत्कृष्ट अभिनयका लागि प्रतिष्ठित ‘बोक्कालिनो डिओर’ अवार्ड पनि जितेकी थिइन्।
यस चलचित्रमा गौरी मल्ल र आयशा तामाङ पनि मुख्य भूमिकामा रहनेछन्। चलचित्रको कार्यकारी निर्माता सौगात बस्नेत, सह–निर्माता सुभाष बी. शाही, र छायांकन अनुभवी सिनेमेटोग्राफर सुदीप बरालले गर्नेछन्।
संगीतमा चर्चित गायक तथा संगीतकार दीपक बज्राचार्य रहेको छ भने रोयल भीमसेन (ट्राइडेन्ट कन्सेप्ट) ले पब्लिसिटी डिजाइनको जिम्मा लिएका छन्। निर्माण टोलीले चलचित्रलाई सन् २०२६ भित्र प्रदर्शनमा ल्याउने लक्ष्य राखेको छ।
चलचित्रको शीर्षकले नै युवा पुस्ता र प्रेमकथामा आधारित कथा हुने अनुमान गर्न सकिन्छ। अभिनय र निर्देशनमा आफ्नै शैली छोड्न सफल अर्पण थापाको यस नयाँ चलचित्रले नेपाली दर्शकलाई फरक अनुभव दिने अपेक्षा गरिएको छ।