‘पाँच पाण्डव’ डल्बी एट्मसमा तयार हुँदै, साउन्ड अनुभवमा नयाँ स्तर

0 Shares

काठमाडौं। निर्माणाधीन नेपाली फिल्म ‘पाँच पाण्डव’मा दर्शकले फुल डल्बी एट्मस साउन्डको अनुभव गर्न पाउने भएका छन्। फिल्मको सम्पूर्ण साउन्ड डिजाइन र मिक्सिङ हालै नेपालमै सञ्चालनमा आएको डल्बी एट्मस स्टुडियोमा गरिने निर्माण पक्षले जनाएको छ।

प्रस्तुतकर्ता नवीन श्रेष्ठका अनुसार ‘पाँच पाण्डव’ नेपालकै पहिलो फिल्म हुनेछ, जसको साउन्डको काम उक्त नयाँ डल्बी एट्मस स्टुडियोमा सम्पन्न हुनेछ। यसका लागि स्टुडियो सञ्चालक सन्तोष शर्मासँग कागजी सम्झौता भइसकेको उनले जानकारी दिए। सम्झौताका बेला मुख्य कलाकार हरिवंश आचार्य र निर्देशक वसन्त निरौला पनि उपस्थित थिए।

“हामीले साउन्डमा कुनै सम्झौता नगर्ने निर्णय गरेका छौँ। दर्शकलाई फरक स्वाद र प्राविधिक रूपमा सशक्त फिल्म दिन चाहन्छौँ,” श्रेष्ठले भने।

फिल्मको शुभमुहूर्त सम्पन्न भइसकेको छ। निर्देशक वसन्त निरौलाको निर्देशनमा बन्ने फिल्ममा हरिवंश आचार्य, जितु नेपाल, सागर लम्साल (बले) लगायत कलाकारको अभिनय रहनेछ। महिला मुख्य पात्रका रूपमा दीपाश्री निरौला र रजनी गुरुङ देखिनेछन्।

निर्माण पक्षका अनुसार नाम धार्मिक जस्तो देखिए पनि ‘पाँच पाण्डव’ धार्मिक फिल्म नभई सामाजिक कथावस्तुमा आधारित ड्रामा हो।

काली रानी फिल्म्सको प्रस्तुति रहने फिल्मको कथा, पटकथा तथा संवाद सुशील पौडेलले लेखेका छन्। उनी चर्चित फिल्म ‘प्रसाद’का लेखक पनि हुन्। फिल्ममा नवीन श्रेष्ठ प्रस्तुतकर्ता र काली रानी श्रेष्ठ निर्माता रहनेछन्।

केही महिनाभित्र छायांकन सुरु गर्ने तयारी रहेको फिल्मको प्रोडक्सन म्यानेजर दिलीप पन्त रहेका छन्।

सम्बन्धित समाचार

सबै