‘रमिताको पिरती’ ट्रेलर सार्वजनिक — प्रेमभन्दा ब्रेकअपको कथा केन्द्रमा

0 Shares

काठमाडौं। निर्देशक सुदिप्ताको डेब्यु निर्देशकिय फिल्म ‘रमिताको पिरती’को ट्रेलर राजधानीमा आयोजित कार्यक्रममा सार्वजनिक गरिएको छ। ट्रेलरले प्रेम, सम्बन्ध र धोकाको भावनात्मक कथा प्रस्तुत गर्दै दर्शकमाझ उत्सुकता बढाएको देखिन्छ।

निर्देशक सुदिप्ताका अनुसार ‘रमिताको पिरती’ परम्परागत प्रेमकथा होइन, बरु ब्रेकअपपछि एक युवतीको मानसिक अवस्था र भावनात्मक यात्रा केन्द्रमा राखिएको कथा हो। नेपाली फिल्ममा प्रायः पुरुष पात्रको दृष्टिकोणबाट प्रेमकथा भनिने प्रवृत्तिबाट अलग हट्दै यस फिल्मले महिलाको अनुभव र भावनालाई प्राथमिकता दिएको उनले बताइन्।

मुख्य भूमिका निभाएकी आना शर्माले यो पात्रका लागि आफूले करिब ६ महिना तयारी गरेको बताइन्। निर्देशकसँग नजिक बसेर पात्रको मनोविज्ञान बुझ्दै आफूलाई भूमिकाअनुसार ढालेको उनको भनाइ छ।

अभिनेता धीरज मगरले पछिल्लो समय आफू महिला पात्रको दृष्टिकोणबाट भनिने कथामा बढी आकर्षित भएको उल्लेख गर्दै ‘रमिताको पिरती’ पनि त्यस्तै फरक धारको फिल्म भएको बताए। दर्शकले आफूलाई नयाँ अवतारमा देख्ने विश्वास उनले व्यक्त गरे।

आगामी माघ २३ गतेबाट प्रदर्शनमा आउने फिल्मको केन्द्रमा ‘रमिता’ अर्थात् आना शर्माको पात्र रहेको छ। यही फिल्ममार्फत गायक समीर श्रेष्ठले अभिनेताका रूपमा डेब्यु गर्दैछन्।

सेरो फिल्म्सको प्रस्तुति रहेको फिल्ममा आना शर्मा, समीर श्रेष्ठ, धीरज मगर, विनय श्रेष्ठ, गौमाया गुरुङ, पशुपति राई, रेनु योगीत, गियना र थिन्ले ल्हामो लगायत कलाकारको अभिनय रहेको छ। सन्तोष लम्साल कार्यकारी निर्माता हुन् भने आरपी प्रोडक्सन एसोसिएट निर्माता रहेको छ। निर्देशक सुवास कोइराला सह–निर्माता र सागर लम्साल निर्माता रहेका छन्।

फिल्ममा सुशान्त केसी, समीर श्रेष्ठ, महेश काफ्ले, अस्मिता अधिकारी र कुशल पोखरेलको संगीत रहेको छ। छायांकन शिशिर विशंखेले गरेका छन् भने सम्पादन सुनिल शिवभक्तिले गरेका हुन्। कपिल पराजुलीको कलर ग्रेडिङ र कृतिका बरालको कोरियोग्राफी रहेको छ।

काठमाडौं उपत्यकामा फिल्मलाई रिच इन्टरटेनमेन्ट र एप्पल इन्टरटेनमेन्टले वितरण गर्नेछन् भने उपत्यका बाहिर एफडी कम्पनीले वितरणको जिम्मा लिएको छ।

सम्बन्धित समाचार

सबै