‘बुकी’को पहिलो गीत सार्वजनिक, देबेन्द्र–रोशनीको भावनात्मक प्रेमकथा

0 Shares

काठमाडौं। निर्माणाधीन नेपाली फिल्म ‘बुकी’को पहिलो गीत ‘तिमी मैसँग भई राख है’ सार्वजनिक गरिएको छ। मंगलबार सार्वजनिक गरिएको गीतले फिल्मको भावनात्मक प्रेमकथाको झलक प्रस्तुत गरेको छ।

गीतको भिडियोमा गायक तथा अभिनेता देबेन्द्र बब्लु र अभिनेत्री रोशनी कार्की फिचर्ड छन्। उनीहरूको केमेस्ट्री स्वाभाविक र प्रभावशाली देखिन्छ। प्रेम, सम्झना र यात्रालाई समेटिएको भिडियोले दर्शकलाई भावनात्मक रूपमा जोड्ने प्रयास गरेको छ।

गीतमा देबेन्द्र बब्लु कै शब्द, संगीत संयोजन र स्वर रहेको छ भने संगीत संयोजनमा दीपक शर्मा र एचबीएन किस्मतको साथ छ।

भिडियोको सुरुवातमा मुख्य पात्र विगतका पदक र तस्बिरहरू हेर्दै पुराना सम्झनामा हराएको देखिन्छ। त्यसपछि प्रेमिल यात्राको कथा अघि बढ्छ, जसले अन्त्यतिर पुग्दा विछोड र पीडाको गहिरो अनुभूति दिन्छ। रोशनी कार्कीको भावुक अभिनय र देबेन्द्रको मौन अभिव्यक्तिले भिडियोलाई अझ शक्तिशाली बनाएको छ।

छायांकन बाग्लुङको ढोरपाटन र आसपासका रमणीय क्षेत्रमा गरिएको छ। हिउँले ढाकिएका पहाड, ग्रामीण बस्ती र सडक यात्राका दृश्यहरूले भिडियोलाई दृश्यात्मक रूपमा आकर्षक बनाएका छन्। ड्रोन शटहरूले हिमाली भू–दृश्यको विशालता प्रभावकारी ढंगले देखाएका छन्।

‘हिमालयन म्युजिकल इभेन्ट म्यानेजमेन्ट एन्ड फिल्म्स’को प्रस्तुति रहेको फिल्म ‘बुकी’मा सुरक्षा पन्त, देबेन्द्र बब्लु र रोशनी कार्की मुख्य भूमिकामा छन्। साथै प्रकाश घिमिरे, लक्ष्मीनाथ तिमल्सिना, घनु जोशी, अनु दाहाल, सन्दीप बाबु लोहनी र निशा बजगाईं लगायत कलाकारको अभिनय देख्न सकिनेछ।

फिल्मको छायांकन काठमाडौं, पोखरा र बाग्लुङमा गरिएको हो। निर्माता लक्ष्मण सापकोटा, अमिषा थापा कौचा र रमेश थापा हुन्। कार्यकारी निर्मातामा प्रकाश आले र राजन केसी छन्।

फिल्मको सम्पादन भुपेन्द्र अधिकारी, छायांकन विकास गन्धर्व (डीओपी)ले गरेका छन्। निर्माण टिमले फिल्म सन् २०२६ भित्र प्रदर्शनमा ल्याउने लक्ष्य राखेको जनाएको छ।

सम्बन्धित समाचार

सबै