काठमाडौं। प्रदर्शन मिति नजिकिँदै जाँदा फिल्म ‘बिगुल’ को प्रचार अभियान तीव्र बनेको छ। फागुन १ गतेदेखि देशव्यापी प्रदर्शनमा आउन लागेको फिल्मको टिमले एक सातासम्म चलेको पश्चिम नेपाल दर्शक भेटघाट कार्यक्रम सम्पन्न गरेको छ।
यसअघि पूर्वी नेपालका विराटनगर, इटहरी, धरान, दमक, बिर्तामोड, हेटौंडा र चितवनमा दर्शकसँग प्रत्यक्ष अन्तरक्रिया गरेको टिमले यस चरणमा बुटवल, भैरहवा, दाङ, कोहलपुर, नेपालगन्ज र पोखरामा भेटघाट गरेको हो।
निर्माता तथा कथाकार दिनेश कोइरालाका अनुसार मोफसल भ्रमणमा फिल्मप्रति दर्शकको उत्साह उल्लेखनीय देखिएको छ। “जहाँ पुगे पनि दर्शक ‘बिगुल’ हेर्न प्रतीक्षामा रहेको पाएँ,” उनले भने, “स्थानीय अगुवा, सञ्चारकर्मी, नेपाल जेसिस, विद्यालय र कलेजका विद्यार्थीबाट उल्लेखनीय साथ मिल्यो।”
अभिनेता नरेन खड्काले फिल्मले सबै उमेर र समुदायका दर्शकलाई तान्ने विश्वास व्यक्त गरे। निर्देशक रमेश कोइरालाले भने, “भुइँमान्छेको कथा बोल्ने ‘बिगुल’ ले समसामयिक राजनीतिक यथार्थ, पारिवारिक जिम्मेवारी र नागरिक अधिकारका विषयलाई उठाएको छ, जसले दर्शकलाई सोच्न बाध्य बनाउँछ।”
फिल्मको प्रचार कार्यक्रममा नेपाल जेसिसको सक्रिय सहभागिता रहेको निर्माण टिमले जनाएको छ। पोखरामा कलेज र विद्यालयका विद्यार्थीहरूसँग विशेष अन्तरक्रिया पनि गरिएको थियो।
म्याग्नोलिया ग्रुपको ब्यानरमा कल्पना पौडेलको प्रस्तुति रहेको फिल्ममा नरेन खड्का, बेनिशा हमाल, रमेश बुढाथोकी, नीर शाह, सरोज खनाल, हेमन्त बुढाथोकी, शिशिर वाङ्देल, बिनोद न्यौपाने, जेएन घिमिरे, गीता अधिकारी, मीरा पण्डित, मानश्री शर्मा र रविन्द्र खड्काको अभिनय छ।
फिल्मको पटकथा र संवाद प्रदीप भारद्वाज र मौनता श्रेष्ठले लेखेका हुन्। छायांकन शिव ढकाल, सम्पादन तारा थापा ‘किम्भे’, संगीत विश्वप्रकाश शर्मा, अर्जुन पोखरेल र मनोज चौलागाईं, द्वन्द्व निर्देशन एनबी महर्जन, तथा नृत्य निर्देशन कमल राई र कविराज गहतराजले गरेका छन्।
फिल्मको वितरण काठमाडौं उपत्यकाभित्र काफिया फिल्म्स र मोफसलमा श्री ब्याङ्केट्स इन्टरटेनमेन्टले गर्नेछन्।