काठमाडौं। माघ १६ देखि प्रदर्शनमा आउन लागेको फिल्म ‘आ बाट आमा’ को प्रचारप्रसारलाई तीव्र बनाउँदै मुख्य कलाकारसहितको टिम पोखरा पुगेको छ। प्रदर्शन मिति नजिकिँदै गर्दा देशव्यापी दर्शकमाझ फिल्मबारे जानकारी विस्तार गर्न यो भ्रमण आयोजना गरिएको हो।
पोखरा पुगेको टोलीमा विपना थापा, पल शाह, उषा उप्रेती, सिम्रन पन्त, साइग्रेस पोखरेल तथा कार्यकारी निर्माता करण सिंह रसाली रहेका छन्। निर्माण टिमले पोखरामा प्रेस मिट आयोजना गरी फिल्मको विषयवस्तु र निर्माण पृष्ठभूमिबारे जानकारी दिएको जनाएको छ।
फिल्मले हालै मात्र केन्द्रीय चलचित्र जाँच पास समितिबाट युनिभर्सल सर्टिफिकेट प्राप्त गरेको छ, जसअनुसार सबै उमेर समूहका दर्शकले फिल्म हेर्न सक्नेछन्। निर्देशक चन्द्र पन्तले पारिवारिक दर्शकलाई लक्षित गर्दै निर्माण गरिएको फिल्म भएकाले यो प्रमाणपत्र महत्वपूर्ण रहेको बताए।
प्रचार अभियानमा भारतबाट नेपाल आएका विपना थापा र प्रदीप रावत सक्रिय छन् भने नेपालमै रहेका कलाकार पल शाह, उषा उप्रेती, सिम्रन पन्त लगायतले पनि प्रचारमा साथ दिइरहेका छन्।
आर्या इन्टरटेन्मेन्टको प्रस्तुति रहेको फिल्ममा विपना थापा, पल शाह, प्रदीप रावत, उषा उप्रेती, सिम्रन पन्त, साइग्रेस पोखरेल, गजित विष्ट, बेगम नेपालीलगायत कलाकारको अभिनय रहेको छ। कथा तथा पटकथा निर्देशक चन्द्र पन्तकै हो। संगीत कोशिस क्षेत्री, बाबुल गिरी र थानेश्वर गौतमले दिएका छन्।
छायांकन नवराज उप्रेती, सम्पादन मिलन श्रेष्ठ, तथा ट्रेलर/टिजर सम्पादन साहिल खानले गरेका हुन्। फिल्मको वितरण आरआर फिल्म्सले गर्नेछ भने डिजिटल अधिकार ओएसआर डिजिटलसँग रहेको छ।
फिल्मका गीतहरू पनि दर्शकमाझ लोकप्रिय बन्दै गएका छन्। विशेष गरी ‘लैजा खबर ए हावा’ र ‘जाँदैछु नौ डाँडा काटेर’ गीतले ३० लाखभन्दा बढी भ्युज प्राप्त गरिसकेका छन्।