काठमाडौं। नेपाली चलचित्र क्षेत्रमा मनोवैज्ञानिक थ्रिलर विधामा तयार भएको ‘द ब्लू लाइट’ माघ १६ गतेदेखि देशभरका हलमा प्रदर्शनमा आउने भएको छ। बलियो स्टारकास्ट र अनुभवी कलाकारहरूको अभिनयले यो फिल्म दर्शकलाई परम्परागत नेपाली सिनेमाबाट केही फरक अनुभव दिने अपेक्षा गरिएको छ।
फिल्ममा बेनिशा हमाल, श्रृष्टि श्रेष्ठ, अर्पण थापा, महेश त्रिपाठी र आयुशमान देशराज जोशी मुख्य भूमिकामा छन्।
बेनिशा हमाल नेपाली फिल्म उद्योगमा अब्बल अभिनय क्षमताका लागि परिचित छिन्। मोर्डन शहरिया महिला होस् वा गाउँले सोझी–सिधा पात्र, उनी सधैं फिट देखिन्छिन्। ‘द ब्लू लाइट’ को लागि बेनिशा निकै उत्साहित छिन् र दर्शकले फिल्म मन पराउनेमा ढुक्क रहेको बताउँछिन्। उनले भनिन्,
“अहिले हामीले हेरिरहेका चलचित्रभन्दा केही फरक छ, त्यसैले दर्शकले मन पराउनुहुनेछ भन्नेमा हाम्रो टिम विश्वस्थ छ।”
बेनिशा स्वयं फिल्मकी कार्यकारी निर्माता पनि हुन् र फिल्मको प्रस्तुति तथा विषयवस्तुलाई मुख्य आकर्षण मान्छिन्।
अहिलेसम्म रोमान्टिक वा सुन्दरी भूमिकामा देखिएकी श्रृष्टि श्रेष्ठ यस फिल्ममा ‘नेगेटिभ’ भूमिका निर्वाह गर्दैछिन्। उनले यसअघि थ्रिलर फिल्म ‘११:५५’ मा काम गरेकी थिइन्, तर ‘द ब्लू लाइट’ मा उनको भूमिका अझ गहिरो र फरक रहेको बताइन्।
“एक कलाकारका रूपमा सधैं राम्रो देखिनु भन्दा यस्तो जटिल र नकारात्मक चरित्र निभाउँदा धेरै कुरा सिक्न पाइन्छ,” श्रृष्टिले भनिन्।
कलाकार अर्पण थापाले ‘द ब्लू लाइट’जस्ता फिल्म विरलै बन्ने र यस्तो चलचित्र बनाउन बलिराम चौहानजस्ता निर्देशक चाहिने बताए।
“सिनेमा धेरै बन्छन्, तर यस्तो चलचित्र घरीघरी बन्दैन। निर्देशक पनि त्यस्तै चाहिन्छ। चलचित्र हेरेपछि दर्शकले धेरै कुरा बुझ्नुहुन्छ।”
अर्पण स्वयं निर्देशक र लेखक पनि हुन् र उनले पात्र निर्माणमा केवल अभिनयको भूमिका मात्र नभई लेखन र निर्देशनसहित पुरै निर्माण टोलीको महत्त्व रहेको बताए।
‘द ब्लू लाइट’मा मुख्य कलाकारहरूसँगै बाल कलाकार ग्रिस्मा कटुवाल र सहारा शर्मा पनि छन्। फिल्म बलिराम चौहानको डेब्यु निर्देशन हो।
स्काइफल पिक्चर्सको प्रस्तुति रहेको फिल्मको को–प्रोडुसर भोलानाथ कटुवाल र रमन ग्रे, कार्यकारी निर्माता बेनिशा हमाल र छायाकार नरेन्द्र मैनाली हुन्। सहायक निर्देशक आकाश उखेडा, प्रोडक्सन डिजाइनर रेलिजा श्रेष्ठ, र निर्माण नियन्त्रक दिलीप पन्त रहेका छन्।