सनी देओल अभिनीत बहुप्रतिक्षित फिल्म ‘बोर्डर-२’ रिलिजसँगै दर्शकको यो सिनेमाप्रति बेग्लै प्रभाव भारतीय दर्शकमाझ देखिएको छ ।
हालै सार्वजनिक भएको भिडियोले भारतीयहरुको सिनेमाप्रतिको लगावलाई पेस गर्छ ।
हाल उत्तर प्रदेशका केही स्थानबाट आएका दृश्यहरूले अहिले सामाजिक सञ्जालमा ठूलो चर्चा बटुलिरहेको छ, जहाँ फ्यानहरू ट्रयाक्टर चढेरै सिनेमा हल गइरहेको देख्न सकिन्छ ।
भाइरल भिडियोहरूमा गाउँ–सहरबाट समूह–समूहमा दर्शकहरू ट्रयाक्टरमा झण्डा र पोस्टर सजाएर फिल्म हेर्न गएको देख्न सकिन्छ। उनीहरू देशभक्ति नारासहित हलतर्फ अघि बढेको दृश्यले फिल्मप्रतिको क्रेज र भावनात्मक जोडलाई प्रस्ट देखाउँछ। धेरैले यसलाई पुरानो ‘बोर्डर’ फिल्मको सम्झना र नयाँ सिक्वेलप्रतिको उत्साहको रूपमा व्याख्या गरेका छन्।
स्थानीय सिनेमा हलहरूमा बिहानैदेखि भीड लागेको र केही स्थानमा शोहरू हाउसफुल भएको रिपोर्ट पनि आएका छन्। दर्शकहरूले फिल्मका युद्ध दृश्य, देशभक्ति भावना र सनी देओलको दमदार उपस्थितिलाई विशेष रूपमा मन पराएको प्रतिक्रिया दिएका छन्।
सामाजिक सञ्जालमा धेरै प्रयोगकर्ताले लेखेका छन् कि “यस्तो उत्साह त ठूलो चाडपर्वमा मात्रै देखिन्छ।” कतिपयले यो दृश्यलाई भारतीय सिनेमा संस्कृतिको अनौठो तर शक्तिशाली उदाहरण भनेका छन्, जहाँ फिल्म केवल मनोरञ्जन नभएर भावनासँग जोडिएको उत्सव बन्छ।
‘बोर्डर-२’ रिलिज भएको केही दिनमै यस्तो जनउत्साह देखिनुले फिल्मले ग्रामीण र सहर दुवै क्षेत्रमा बलियो प्रभाव पारेको संकेत दिएको विश्लेषकहरू बताउँछन्। अहिले यो फिल्म बक्स अफिसमा पनि राम्रो प्रदर्शन गरिरहेको चर्चा छ।
View this post on Instagram