आगामी फागुन १ गते प्रदर्शनमा आउने नेपाली फिल्म ‘शिवांश’**मा प्रसिद्ध भारतीय गायक कैलाश खेरको स्वर समावेश गरिएको निर्माणपक्षले जनाएको छ। फिल्ममा खेरको आवाजमा रहेको चर्चित धार्मिक रचना ‘शिव ताण्डव स्तोत्रम्’ प्रयोग गरिएको हो।
निर्माण टिमले नयाँ पोस्टर सार्वजनिक गर्दै फिल्ममा कैलाश खेरको सांगीतिक सहभागिता पुष्टि गरेको हो। सार्वजनिक पोस्टरमा फिल्मका मुख्य कलाकारहरू तनावपूर्ण र गम्भीर मुद्रामा देखिएका छन्।
पोस्टरमा प्रवीण खतिवडा हातमा चक्कु बोकेर रौद्र अवतारमा छन् भने तेज गिरी आक्रोशित भावमा प्रस्तुत छन्। रुसा न्यौपाने गम्भीर नजरमा देखिएकी छन् भने बिमला लिम्बू आश्चर्यमिश्रित भावमा प्रस्तुत छिन्। त्यसैगरी विकास जोशी हातमा डमरु बोकेर चिच्याइरहेको दृश्य पोस्टरमा समेटिएको छ।
श्याम–श्वेत टोनमा तयार गरिएको पोस्टरमा चक्र र आगोका प्रतीकहरू देखिन्छन्, जसले फिल्मको कथा तनाव, संघर्ष र आन्तरिक द्वन्द्व वरिपरि घुमेको संकेत गर्छ। पोस्टरको कलर टोनले निराशा र मनोवैज्ञानिक दबाब झल्काउँछ।
महाशिवरात्रिको अवसर पारेर रिलिज हुने ‘शिवांश’**का लागि कैलाश खेरले नेपाल र नेपाली दर्शकहरूलाई लक्षित गर्दै विशेष भिडियो सन्देश जारी गरेका छन्। उनले नेपालप्रतिको आफ्नो आत्मीयता र सांगीतिक सम्बन्धबारे पनि चर्चा गरेका छन्।
विश्वभर आफ्नो ओजपूर्ण आवाजका लागि परिचित खेरले नेपाली फिल्म ‘शिवांश’मा ‘शिव ताण्डव स्तोत्रम्’ गाउन पाउनु विशेष अवसर भएको बताएका छन्। उनले नेपाली दर्शकबाट आफूले पाउँदै आएको प्रेमप्रति आभार व्यक्त गर्दै भनेका छन्,
“नेपालका फ्यानहरूले मलाई र मेरा गीतहरूलाई दिनुहुने प्रेमका लागि मसँग शब्द नै छैन।”
खेरले ‘शिवांश’लाई भारत–नेपाल सांस्कृतिक मित्रताको प्रतीकका रूपमा चित्रण गरेका छन्। उनका अनुसार यो परियोजना दुई देशबीचको सांगीतिक सहकार्यको उदाहरण हो।
फिल्म अञ्जान सिनेमा प्रोडक्सन हाउसको प्रस्तुति हो भने निर्देशन सन्तोष कुमार आत्रेयले गरेका छन्। यो उनको डेब्यु निर्देशकीय फिल्म हो। निर्माता अञ्जान केसी हुन्।
फिल्ममा प्रवीण खतिवडा, तेज गिरी, बिमला लिम्बू र रुसा न्यौपाने मुख्य भूमिकामा छन्। साथै विकास जोशी, प्रदीप कुमार चौधरी, सबिर चुरौटे, उदय कुमार सुब्बा र टीका निरौला लगायत कलाकारहरूको अभिनय रहनेछ।
कथा अञ्जान केसीले लेखेका हुन् भने सह–निर्मातामा शोभा भण्डारी र अनिस केसी बोगटी छन्। बारत लिम्बूको स्क्रिनप्ले रहेको फिल्ममा स्क्रिप्ट डक्टरको रूपमा सुलक्षण भारतीले काम गरेका छन्।
गीत रचनामा विप्लव प्रतीक र राजनराज शिवाकोटी छन्। संगीत न्ह्यू बज्राचार्य र राजनराज शिवाकोटीको छ। गायनमा राजनराज शिवाकोटी, मिलन नेवार र समीक्षा अधिकारीको स्वर सुन्न पाइनेछ।
द्वन्द्व निर्देशन मिलन श्रेष्ठ, कोरियोग्राफी विक्रम चोहान, तथा डीओपी सरद महतो हुन्। कार्यकारी निर्माता सम्भू थापा रहेका छन्। पोस्ट–प्रोडक्सन चलचित्र चौतारीले गरिरहेको छ भने वितरण **डिजिटल सिनेमा नेपाल (DCN)**ले गर्नेछ।