नेपाली लघु फिल्म ‘द चेन्ज (परिवर्तन)’ले पुनः अन्तर्राष्ट्रिय स्तरमा सम्मान पाएको छ। नेपाल संस्कृति तथा चलचित्र केन्द्रको आयोजनामा सम्पन्न सातौँ नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभल (NCIF) २०२६मा यस फिल्मलाई सर्ट फिल्मतर्फ ‘स्पेसल मेनसन अवार्ड’ प्रदान गरिएको हो।
१६ देखि १८ माघसम्म काठमाडौंमा आयोजना भएको उक्त महोत्सवमा ३९ देशका ८५ फिल्म प्रदर्शन गरिएको थियो। ग्रान्ड फिनाले अवार्ड समारोह भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा आयोजना गरिएको थियो, जहाँ अन्तर्राष्ट्रिय निर्णायक मण्डलले ‘द चेन्ज’लाई उक्त अवार्ड प्रदान गरेको हो। अवार्ड ग्रहण गर्न फिल्मकी नायिका तथा गायिका सरिता भारती, अभिनेता प्रवण भुसाल र निर्देशक डब्बु क्षत्री उपस्थित थिए।
अवार्ड ग्रहण समारोहमा बोल्दै अभिनेत्री सरिता भारतीले फिल्मले नेपाली समाजमा अझै कायम रहेको महिनावारीसम्बन्धी कुप्रथा र विभेदको विषय उठाएको बताइन्। उनले कुप्रथाको सिकार भएकी महिलाको भूमिका निर्वाह गरेको जानकारी दिइन्। अभिनेता प्रवण भुसालले पनि फिल्मले यस्ता सामाजिक कुरीतिविरुद्ध जनचेतना फैलाउने प्रयास गरेको बताए।
यसअघि पनि ‘द चेन्ज’ले अन्तर्राष्ट्रिय सफलता हासिल गरिसकेको छ। बंगलादेशको बोगुरा सहरमा आयोजित छैटौँ बोगुरा अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा यस फिल्मले ‘स्पेसल मेनसन अवार्ड’ जितेको थियो। सो महोत्सवमा पनि निर्देशक डब्बु क्षत्री, अभिनेता प्रवण भुसाल र अभिनेत्री सरिता भारतीले अवार्ड ग्रहण गरेका थिए।
त्यस्तै, दोस्रो संस्करणको ग्रामीण फिल्म महोत्सवमा ‘द चेन्ज’ले उत्कृष्ट लघु फिल्म अवार्ड जितेको थियो। सोही महोत्सवमा निर्देशक डब्बु क्षत्री उत्कृष्ट निर्देशक, प्रवण भुसाल उत्कृष्ट अभिनेता, र सरिता भारती अभिनेत्री तर्फ जुरी अवार्डबाट सम्मानित भएका थिए।
यसरी ‘द चेन्ज’ले हालसम्म एक राष्ट्रिय र दुई अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा अवार्ड जितिसकेको छ। फिल्म अन्य अन्तर्राष्ट्रिय महोत्सवहरूमा पनि छनोट भएको निर्माण टिमले जनाएको छ।
लघु फिल्म ‘द चेन्ज’मा प्रवण भुसाल र सरिता भारतीसँगै कमला जोशी, माधवराज खरेल, शर्मिला शर्मा र सुरज अधिकारीको मुख्य भूमिका रहेको छ। फिल्मको लेखन तथा निर्देशन डब्बु क्षत्रीले गरेका हुन्। पार्श्व संगीत ओम सुनार, छायाङ्कन रामशरण उप्रेती, सम्पादन वीरेन्द्र भाट ‘विपिन’ले गरेका छन्। निर्माणमा अर्विसा भुसाल, युविका बुढाथोकी र सरिता भारती संलग्न छन्। फिल्म विलक्षण क्रियसन प्रा.लि.को ब्यानरमा निर्माण गरिएको हो।