माघ १६ गतेदेखि प्रदर्शनमा रहेको नेपाली फिल्म ‘आ बाट आमा’का मुख्य कलाकारहरू दर्शक भेटघाटका लागि पूर्वी नेपाल हल भिजिटमा निस्किएका छन्। मंगलबार बिहानैदेखि फिल्म टिम इटहरी, धरान, विराटनगर, दमक र बिर्तामोडका सिनेमा हलमा पुग्ने कार्यक्रम तय गरिएको छ।
निर्देशक चन्द्र पन्तका अनुसार फिल्मका प्रमुख कलाकार पल शाह, विपना थापा, उषा उप्रेती, सिम्रन पन्त र साइग्रेस पोखरेलसहितको टोली दर्शकसँग प्रत्यक्ष भेटघाट गर्न पूर्व पुगेको हो। उनले हलमा आउने दर्शकसँग भेटेर प्रतिक्रिया लिने योजना रहेको जानकारी दिए।
फिल्म रिलिज भएसँगै कलाकारहरू हल भिजिटमा सक्रिय छन्। यसअघि पनि पल शाह, विपना थापा, प्रदीप रावत, उषा उप्रेती र सिम्रन पन्त लगायत कलाकारहरूले विभिन्न सहरका हलमा पुगेर दर्शकसँग संवाद गरिसकेका छन्। निर्माण टिमका अनुसार फिल्मले दर्शकबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छ।
फिल्मका संवाद अभिमन्यु निरवीले लेखेका हुन् भने अमर न्यौपाने, अभिमन्यु निरवी र चन्द्र पन्तले लेखन सहकार्य गरेका छन्। फिल्म आर्या इन्टरटेन्मेन्टको प्रस्तुतिमा निर्माण भएको हो।
‘आ बाट आमा’मा विपना थापा, पल शाह, प्रदीप रावत, उषा उप्रेती, सिम्रन पन्त, साइग्रेस पोखरेल, गजित बिष्ट र बेगम नेपालीलगायत कलाकारको मुख्य भूमिका रहेको छ।
निर्देशक चन्द्र पन्तकै कथा तथा पटकथा रहेको फिल्ममा संगीत कोशिस क्षेत्री, बाबुल गिरी र थानेश्वर गौतमको छ। गीतका भिडियोमा कोरियोग्राफी गंभीर बिष्ट र दिलिप ओखेडाले गरेका छन्।
छायाङ्कन नवराज उप्रेतीले गरेका हुन्। फिल्ममा कृष्ण प्रसाद सुवेदी, ओमकार पन्त, प्रकाशजंग कुँवर, ध्रुव प्रसाद न्यौपाने र क्षितिज ढुंगानाको लगानी रहेको छ। कार्यकारी निर्माता करण सिंह रसाली हुन्।