चलचित्र विकास बोर्डद्वारा कलाकार र प्राविधिकका लागि एकहप्ते घोडचढी तालिम सुरु

0 Shares

चलचित्र विकास बोर्डले दक्षता अभिवृद्धि वर्ष २०८२ को अवसरमा नेपाली फिल्म क्षेत्रका कलाकार तथा प्राविधिकहरूको सीप विकासका लागि एकहप्ते घोडचढी तालिम सञ्चालन गर्ने भएको छ। बोर्डका अनुसार उक्त तालिम मिति २४ गतेदेखि सुरु हुनेछ।

ऐतिहासिक, पौराणिक, एक्शन तथा साहसिक कथावस्तुमा आधारित नेपाली फिल्महरूको संख्या बढ्दै गएको सन्दर्भमा घोडचढी सीप अत्यावश्यक बन्दै गएको उल्लेख गर्दै कलाकार र स्टन्ट आर्टिस्टलाई सुरक्षित, अनुशासित र व्यावसायिक बनाउने लक्ष्यसहित तालिम आयोजना गरिएको हो।

तालिममा नेपाली फिल्म क्षेत्रका अनुभवी तथा चर्चित कलाकारहरूको सहभागिता रहने जनाइएको छ। कार्यक्रमअन्तर्गत सहभागीहरूलाई व्यावहारिक अभ्यास, सुरक्षा मापदण्ड, घोडासँगको तालमेल, क्यामेरासँग समन्वय तथा एक्शन दृश्यका लागि आवश्यक आधारभूत सीप सम्बन्धी प्रशिक्षण प्रदान गरिनेछ।

यस सन्दर्भमा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीले भने,

“नेपाली चलचित्रमा ऐतिहासिक, पौराणिक र एक्शन कथावस्तु बढ्दै गएको सन्दर्भमा घोडचढी जस्तो सीप अब वैकल्पिक होइन, अनिवार्य बन्दै गएको छ। कलाकार तथा स्टन्ट आर्टिस्टलाई सुरक्षित, अनुशासित र व्यावसायिक बनाउने उद्देश्यले यो तालिम सुरु गरिएको हो। यसले चलचित्रको गुणस्तर बढाउनुका साथै नेपाली सिनेमाको अन्तर्राष्ट्रिय स्तर उकास्न सहयोग पुर्‍याउँछ।”

चलचित्र विकास बोर्डले यस तालिमले नेपाली फिल्म उद्योगको उत्पादन गुणस्तर, प्राविधिक सुरक्षा र आत्मनिर्भरता बढाउने विश्वास व्यक्त गरेको छ।

सम्बन्धित समाचार

सबै