यही शुक्रबारदेखि रिलिज हुने नेपाली फिल्म ‘कुमारी’ का निर्देशक दिनेश राउतले आफ्नो आगामी रिलिज ‘कुमारी’लाई बलिउड फिल्म ‘सैयारा’को नक्कल भन्नेलाई आफ्नो फिल्मप्रतिलाई त्यसरुपमा बुझ्नु सर्वथा गलत भएको प्रतिक्रिया दिएका छन्।
बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनले दुवै फिल्मको कथा र प्रस्तुति एकदमै फरक रहेको दाबी गरे ।
‘कुमारी’को फर्स्टलुक पोस्टर सार्वजनिक भएको समयमै ‘सैयारा’ले फिल्मी बजारमा धुम मचाइरहेको थियो। दुवै फिल्ममा नयाँ कलाकार र रोमान्टिक प्रस्तुति देखिएकाले धेरै दुवैबीच समानता देखेका प्रतिक्रिया त्यतिबेलादेखि नै आउन सुरु गरेको थियो। गीत र ट्रेलर सार्वजनिक भएपछि पनि सामाजिक सञ्जालमा यही क्रम जारी रह्यो।
निर्देशक राउतले यस्तो तुलना सतही बुझाइ भएको बताए।
“फिल्मलाई ‘सैयारा’को नेपाली संस्करण भन्नु सतही सोच हो। दुवै लभस्टोरी हुन् र नयाँ कलाकार छन् भन्ने आधारमा मात्र तुलना गर्नु ठीक होइन। फिल्म रिलिज भएपछि यो धारणा गलत सावित हुनेछ। ‘कुमारी’को कथा ‘सैयारा’भन्दा पूर्ण रूपमा फरक छ,” उनले भने।
राउतले ‘कुमारी’ आफ्ना अघिल्ला प्रेमकथा फिल्मभन्दा फरक अनुभव दिने पनि दाबी गरे।
“साथीहरूको सल्लाहमा धेरै समयपछि प्रेमकथा फिल्म निर्देशन गरेको हुँ। पहिलेभन्दा अहिले प्रेमकथा बुझ्ने मेरो दृष्टिकोण केही फरक छ। त्यसैले दर्शकले ‘कुमारी’मा मेरो अघिल्लो प्रेमकथाभन्दा नयाँ कुरा पाउनुहुनेछ,” उनले थपे।
यस शुक्रबारदेखि देशभर प्रदर्शनमा आउन लागेको ‘कुमारी’ मा अभिषेक खड्का र आकृति राजभण्डारी मुख्य भूमिकामा छन्। साथै घनश्याम जोशी, सुनिता श्रेष्ठ, आकांक्षा कार्की, मधु खड्का र सनम श्रेष्ठ लगायत कलाकारको अभिनय छ। फिल्मका निर्माता महेन्द्र अधिकारी हुन्। विकास सुवेदीको लेखन, सुसन प्रजापतिको छायांकन र सुप्रिम पराजुलीको सम्पादन रहेको छ।
निर्माण टिमको विश्वास छ— फिल्म रिलिजपछि दर्शकले तुलना भन्दा पनि यसको फरक कथा र प्रस्तुति अनुभव गर्नेछन्।