चलचित्रघरको स्तरोन्नति र पुनः सञ्चालनका लागि प्रोत्साहन अनुदान, बोर्डद्वारा सूचना जारी

0 Shares

चलचित्र विकास बोर्डले देशभर रहेका सिङ्गल थियटरसहितका चलचित्रघरको स्तरोन्नति, पुनः सञ्चालन तथा दर्शक संख्या अभिवृद्धि गर्ने उद्देश्यले प्रोत्साहन अनुदान उपलब्ध गराउने निर्णय गरेको छ। स्वदेशी चलचित्रको प्रवर्द्धन र बजार विस्तारलाई लक्षित गर्दै बोर्डले सशर्त अनुदान सहयोगका लागि सूचना सार्वजनिक गरेको हो।

बोर्डद्वारा मिति २०८२ माघ २३ गते प्रकाशित सूचनाअनुसार, तोकिएका कागजातसहित बोर्डबाट स्वीकृत ढाँचाको आवेदन फाराम भरी ७ दिनभित्र चलचित्र विकास बोर्डको कार्यालयमा आवेदन पेश गर्नुपर्ने व्यवस्था गरिएको छ।

सूचनामा विशेष रूपमा काठमाडौँ उपत्यका बाहिर (मोफसल) सञ्चालनमा रहेका, विभिन्न कारणले बन्द भई पुनः सञ्चालन गर्न चाहने चलचित्रघरलाई प्राथमिकतामा राखिने उल्लेख छ। साथै, व्यावसायिक मल बाहेकका स्थानमा रहेका, ऐतिहासिक तथा पुराना चलचित्रघर, र जनघनत्व बढी भएका क्षेत्रका चलचित्रघरलाई समेत अग्राधिकार दिइने बोर्डले जनाएको छ।

हाल सञ्चालनमा रहेका चलचित्रघरले ई–टिकटिङ (बक्स अफिस) प्रणाली लागू गरी बोर्डको Central Cinema Management System (CCMS) मा नियमित रूपमा डाटा उपलब्ध गराएको हुनुपर्ने शर्त तोकिएको छ। त्यसैगरी चलचित्र विकास शुल्क, मूल्य अभिवृद्धिकर (VAT) तथा मनोरञ्जन करलगायतका सबै सरकारी राजस्व समयमै चुक्ता गरेको चलचित्रघरलाई प्राथमिकतामा राखिनेछ।

आवेदन फाराम चलचित्र विकास बोर्डको कार्यालय वा बोर्डको आधिकारिक वेबसाइटबाट डाउनलोड गर्न सकिनेछ। तोकिएको म्यादपछि प्राप्त हुने आवेदनमाथि कुनै कारबाही नहुने बोर्डले स्पष्ट पारेको छ।

बोर्डका अनुसार यो कार्यक्रम गत आर्थिक वर्षको निरन्तरता भएकाले अघिल्लो वर्षकै सूचनाअनुसार आवेदन दिइसकेका चलचित्रघरले पुनः आवेदन दिनुपर्ने छैन।

चलचित्रघरको स्तरोन्नतिसँगै नेपाली चलचित्र उद्योगलाई पुनर्जीवित गर्ने सरकारी प्रयासका रूपमा यो कार्यक्रमलाई महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।

सम्बन्धित समाचार

सबै