‘श्री बुकुरोः द होम कलिङ’को ‘ए साइला दाई’ गीत सार्वजनिक

0 Shares

आगामी फागुन १ गतेबाट रिलिज हुने सिनेमा ‘श्री बुकुरोः द होम कलिङ’ ले प्रचार–प्रसारलाई तीव्र बनाएको छ। पोस्टर र ट्रेलर सार्वजनिक गरिसकेको फिल्मले शुक्रबार राजधानीमा आयोजित एक विशेष कार्यक्रमका बीच गीत सार्वजनिक गरेको हो।

सार्वजनिक गरिएको ‘ए साइला दाई’ बोलको गीतमा बसन्त सापकोटाको शब्द तथा संगीत रहेको छ भने सविन सुबेदी र युक्ती बिमलीको स्वर सुन्न सकिन्छ। गीतको भिडियोमा सिनेमाका मुख्य कलाकारद्वय आशीर्वाद क्षेत्री र निकिता आचार्यको आकर्षक नृत्य प्रस्तुत गरिएको छ।

सुदीप भूपाल सिंहको लेखन तथा निर्देशन रहेको सिनेमा पारिवारिक कथावस्तुमा आधारित छ। फिल्ममा आशीर्वाद र निकितासँगै लक्ष्मी गिरी, प्रतीक राज आचार्य, रोशनी कार्की, राजन इशान, दीपिका थापा, लय संग्रौला, मोहन निरौला, रामबाबु रेग्मी, रश्मि भट्ट, उत्तम केसी, गीता थापा, सपना श्रेष्ठ, आशिका शाही, दीपक कार्की र रजिना विश्वकर्मा लगायतका कलाकारहरूको अभिनय रहेको छ।

फिल्म रेञ्जको ब्यानरमा निर्माण भएको सिनेमालाई रुबी सेन सिंहले निर्माण गरेकी हुन्। सिनेमामा सञ्जय लामा र राजेश श्रेष्ठको छायांकन, सुरज तामाङ र प्रवीण सिंहको कोरियोग्राफी, आईड्रिम एनिमेसनको भिएफएक्स, मनोरञ्जन श्रेष्ठको कलर ग्रेडिङ तथा विक्रम कार्कीको ब्याकग्राउन्ड स्कोर समावेश छ। फिल्मको सम्पादन बनिष शाह, चन्दन दत्त र परिच्छेद सेनले गरेका छन्। सिनेमाका गीतमा रञ्जीत गजमेर र बसन्त सापकोटाको संगीत रहेको छ।

पारिवारिक संवेदना र आधुनिक प्रस्तुतीको संयोजन रहेको ‘श्री बुकुरोः द होम कलिङ’ले दर्शकको ध्यान खिच्ने अपेक्षा गरिएको छ।

सम्बन्धित समाचार

सबै