तेस्रो टीकापुर साहित्य महोत्सव चैत १३ देखि १५ सम्म, थारू साहित्य र संस्कृतिमा विशेष फोकस

0 Shares

टीकापुर साहित्य महोत्सव २०८२ को तेस्रो संस्करण आगामी चैत १३ देखि १५ गतेसम्म आयोजना हुने भएको छ। ‘साहित्यमार्फत सामाजिक सद्भाव’ भन्ने मूल नारासहित स्थापना भएको टीकापुर साहित्य समाजले शनिबार आयोजित पत्रकार सम्मेलनमार्फत त्रिदिवसीय महोत्सवको मिति र कार्यक्रम संरचना सार्वजनिक गरेको हो।

आयोजकद्वारा जारी विज्ञप्तिअनुसार, यस वर्षको महोत्सवलाई ‘थारू साहित्य तथा सांस्कृतिक उत्सव’ का रूपमा मनाइनेछ। महोत्सवमा कुल २१ बहस सत्र रहने छन्, जसअनुसार हरेक दिन ७ वटा बहस सत्र सञ्चालन हुनेछन्। प्रत्येक सत्रको अवधि एक घण्टा तोकिएको छ।

महोत्सवको उद्घाटन भाषाविद् माधवप्रसाद पोखरेलको ‘हाम्रो जाति, भाषा र संस्कृति’ शीर्षकमा विद्वत प्रवचनबाट हुनेछ। पोखरेल नेपालीसहित विश्वका अन्य ६० भाषाका वर्णमालाका निर्माता हुन्।

नेपालमा विशेषगरी कैलाली, कञ्चनपुर, बाँके, बर्दिया र दाङ–देउखुरी क्षेत्रमा थारू समुदायको उल्लेखनीय उपस्थिति रहेको छ। थारू भाषा, लोकसाहित्य र संस्कृति नेपालको मौलिक सांस्कृतिक पहिचान भएको उल्लेख गर्दै टीकापुर साहित्य महोत्सवका संस्थापक संयोजक तथा साहित्यकार महेशविक्रम शाहले महोत्सवको उद्देश्य थारू सांस्कृतिक सम्पदाको संरक्षण, संवर्द्धन र प्रवर्द्धन रहेको बताए।

“रैथाने भाषा र मौलिक संस्कृतिलाई समुदायको पहिचान र गौरवका रूपमा विकास गर्दै भावी पुस्ताका लागि सुरक्षित राख्न साहित्य तथा सांस्कृतिक महोत्सवहरू प्रभावकारी माध्यम हुन्,” संयोजक शाहले भने।

महोत्सवमा भाषा, साहित्य, कला, संस्कृति, शिक्षा, समाज, राजनीति र विकासलगायत विषयमा अध्येता, विज्ञ, अभियन्ता, शोधार्थी तथा आम नागरिकबीच बहस र संवाद हुनेछन्।

महोत्सवको प्रमुख आकर्षणका रूपमा सुदूरपश्चिम कविता महोत्सव आयोजना गरिनेछ। यसअन्तर्गत सुदूरपश्चिम प्रदेशका सर्जकहरूका कविताबीच प्रतिस्पर्धा हुनेछ। उत्कृष्ट कवितालाई प्रथम १५,०००, द्वितीय १०,००० र तृतीय ५,००० रुपैयाँ नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिनेछ। दुई जनालाई सान्त्वना पुरस्कारस्वरूप प्रमाणपत्र दिइने आयोजकले जनाएको छ। सहभागी उत्कृष्ट कविताहरूको सङ्ग्रह प्रकाशन समेत गरिनेछ।

सुदूरपश्चिम प्रज्ञा–प्रतिष्ठानसँग सहकार्यमा आयोजना हुन लागेको महोत्सवको मुख्य प्रवर्द्धक सुदूरपश्चिम प्रदेश सरकार रहेको छ। टीकापुर नगरपालिका र जानकी गाउँपालिका प्रवर्द्धकका रूपमा रहेका छन् भने नेपाल पर्यटन बोर्ड सह–प्रवर्द्धक हुनेछ। महोत्सवमा हालसम्म कृषि विकास बैंक, लक्ष्मी सनराइज बैंक र एभरेष्ट बैंक प्रायोजकका रूपमा जोडिएका छन्।

अतिथि आगमनको दिन महोत्सवको नारा ‘उडेर, गुडेर, तैरिएर टीकापुर’ लाई व्यवहारमा उतार्दै सहभागीहरूलाई कर्णाली नदीमा जलविहार गराइनेछ। सोही साँझ थारू सांस्कृतिक साँझ आयोजना गरिनेछ। महोत्सव अवधिभर पुस्तक प्रदर्शनी पनि सञ्चालन हुनेछ।

सम्बन्धित समाचार

सबै