काठमाडौं — शनिबार हृदयघातका कारण निधन भएका चर्चित कलाकार सुनिल थापाको आइतबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ। अपरान्ह ४ बजे हिन्दू परम्पराअनुसार दाहसंस्कार गरिएको हो। उनका छोरा अनमोल थापाले दागबत्ती दिएका थिए।
अन्त्येष्टिअघि थापाको पार्थिव शरीरमा पर्यटनमन्त्री अनिलकुमार सिन्हाले राष्ट्रिय झन्डा ओढाएर सम्मान व्यक्त गरेका थिए।
आइतबार बिहान त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा पोस्टमार्टम सम्पन्न भएपछि थापाको पार्थिव शरीरलाई चाबहिलस्थित चलचित्र विकास बोर्डको कार्यालयमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको थियो। त्यहाँ कलाकार, फिल्मकर्मी, राजनीतिज्ञ तथा शुभेच्छुकहरूले उनको पार्थिव शरीरमा फूल अर्पण गर्दै श्रद्धाञ्जली व्यक्त गरे। दिउँसो करिब २ बजे फूलले सिंगारिएको गाडीमार्फत पार्थिव शरीरलाई पशुपति आर्यघाट लगिएको थियो।
शनिबार बिहान शंखमुलस्थित आफ्नै अपार्टमेन्टमा बेहोस भएपछि थापालाई उनका सहयोगीले थापाथलीस्थित नर्भिक अस्पताल पुर्याएका थिए। उपचारकै क्रममा उनले अन्तिम सास लिए। ६८ वर्षको उमेरमा निधन भएका थापाका श्रीमतीसहित एक छोरा र एक छोरी छन्। मुम्बईमा बसोबास गर्दै आएका परिवारका सदस्यहरू शनिबार साँझ मात्र काठमाडौं आइपुगेका थिए।
‘राते काइँला’को रूपमा दर्शकमाझ विशेष पहिचान बनाएका थापाले आफ्नो करिअरमा डेढ सयभन्दा बढी चलचित्रमा अभिनय गरेका छन्। हिन्दी फिल्म ‘साहेब बहादुर’बाट अभिनय यात्रा सुरु गरेका उनको पहिलो नेपाली फिल्म ‘मसाल’ हो। तुलसी घिमिरे निर्देशित ‘चिनो’ बाट उनी नेपाली दर्शकमाझ व्यापक रूपमा परिचित बनेका थिए। पछिल्लो पटक उनी गत पुस १७ गते प्रदर्शन भएको ‘एक्लो’ मा देखिएका थिए।
थापाप्रति नेपाली फिल्मकर्मीसँगै भारतीय कलाकारहरूले पनि श्रद्धाञ्जली अर्पण गरेका छन्।
हिन्दी फिल्म ‘मेरी कोम’ मा सँगै काम गरेकी अभिनेत्री प्रियंका चोपडाले सामाजिक सञ्जालमार्फत थापालाई सम्झँदै कठिन समयमा आफूलाई सम्हालेकोमा धन्यवाद व्यक्त गरेकी छन्। यस्तै, भारतीय अभिनेता मनोज बाजपेयीले पनि थापाको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन्।
फोटो – गोपीकृष्ण चापागाईं