फिल्म विकास बोर्डले सोमबार सार्वजनिक गरेको बक्स अफिस तथ्यांकअनुसार फिल्म ‘आ बाट आमा’ ले प्रदर्शनको ९ दिनसम्म (माघ २४) ४ करोड ८० लाख ९० हजार ४८७ रुपैयाँ ग्रस व्यापार गरेको छ।
यद्यपि आइतबारसम्मको अद्यावधिक विवरणअनुसार फिल्मको कुल कमाइ ५ करोड २० लाख रुपैयाँ ग्रस पुगेको बताइएको छ।
गत शनिबार मात्रै फिल्मले १ करोडभन्दा बढी कमाइ गरेको थियो, जसले यसको बक्स अफिस गति आक्रामक रहेको संकेत गर्छ।
करिब २ करोड रुपैयाँ लागत (प्रचारसहित) मा निर्माण भएको यो फिल्मले लगानी सुरक्षित गर्दै नाफामा जान अझै करिब १ करोड ग्रस कमाइ आवश्यक छ।
फिल्मको सफलतासँगै अभिनेता पल शाह को स्टारडम फेरि उकालो लागेको विश्लेषण गरिएको छ। यस वर्ष ५ करोड कमाउने यो उनको दोस्रो फिल्म हो। यसअघि साउनमा प्रदर्शन भएको फिल्म ‘मोहर’ ले पनि ५ करोडभन्दा बढी व्यापार गरेको थियो। यस आधारमा पलका लागि २०८२ साल फलदायी देखिएको छ। अब उनको माग र पारिश्रमिक बढ्ने निश्चित जस्तै छ।
चन्द्र पन्त निर्देशित फिल्ममा पल शाहका साथै विपना थापा, प्रदीप रावत (गजनी भिलेन), साइग्रेस पोखरेल, उषा उप्रेती, सिम्रन पन्त र रचना गौतम लगायतको अभिनय रहेको छ। आमा–छोराको भावनात्मक सम्बन्धमा आधारित कथामा निर्माण भएको फिल्मका निर्माता कृष्ण प्रसाद सुवेदी, ओमकार पन्त, प्रकाशजंग कुँवर, ध्रुव प्रसाद न्यौपाने र क्षितिज ढुंगाना हुन्।