प्रदर्शनकै क्रममा हलबाट उतारिएको नेपाली फिल्म ‘द ब्लू लाइट’ को वक्सअफिस प्रदर्शन दयनीय देखिएको छ। कमजोर दर्शक उपस्थिति र न्यून व्यापारपछि निर्माण पक्षले पर्याप्त प्रचारप्रसार नपुगेको जनाउँदै रिलिज स्थगित गर्ने घोषणा गरेको थियो।
उपलब्ध वक्सअफिस तथ्यांकअनुसार फिल्मले आफ्नो प्रदर्शन अवधिभर ३ लाख १९ हजार ५९५ रुपैयाँ ग्रस कमाइ गरेको छ। यस अवधिमा फिल्मका ८३२ वटा टिकट मात्र बिक्री भएका छन्। यी तथ्यांकले फिल्मको व्यापारिक यात्रा अत्यन्त कमजोर रहेको संकेत गर्छ।
सीमित प्रचार र प्रतिस्पर्धी रिलिजका कारण फिल्मले अपेक्षित दर्शक पाउन नसकेको अनुमान गरिएको छ। यही समयमा रिलिज भएको चन्द्र पन्त निर्देशित ‘आ बाट आमा’ ले भने सुखद् व्यापारिक यात्रा तय गरिरहेको छ। उक्त फिल्मले हालसम्म ५ करोडभन्दा बढी कमाइ गरिसकेको छ। यही रफ्तार कायम रहेमा करिब २ करोड लागत मा बनेको फिल्म नाफामा जाने लगभग निश्चित देखिन्छ।
स्काइफल पिक्चर्स प्रस्तुत फिल्ममा अर्पण थापा, आयुश्मान जोशी, महेश त्रिपाठी र सुरक्षा इटानी को मुख्य भूमिका छ। सहायक निर्माता भोलानाथ कटुवाल र रमन ग्रे हुन् भने कार्यकारी निर्मातामा छायांकार मैनाली र अभिनेत्री हमाल रहेका छन्।
यद्यपि व्यापारिक रूपमा कमजोर रहे पनि फिल्मले नरेन्द्र मैनालीको सिनेम्याटोग्राफी का लागि भने प्रशंसा बटुलेको थियो।