काठमाडौं – फिल्म ‘लालिमा’ आगामी फागुन २९ गतेबाट देशव्यापी प्रदर्शनमा आउने भएको छ। निर्माण पक्षले मंगलबार पहिलो पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको हो।
निर्देशक रोशन मिराजको निर्देशनमा बनेको यस फिल्ममा नायिका रोशनी कार्की शीर्ष भूमिकामा छिन्। साथै, उषा रजक, शिशिर वाङ्देल, जीवन भट्टराई, सबिन कट्टेल, घनश्याम जोशी र सुष्मा निरौला मुख्य भूमिकामा देखिनेछन्।
निर्देशक मिराजका अनुसार ‘लालिमा’ करिब तीन हजार यौनकर्मीको जीवन अनुभवमा आधारित कथा हो। फिल्ममा रोशनीले ‘लालिमा’को भूमिका निर्वाह गरेकी छन् भने उनकी बोल्न नसक्ने आमाको भूमिकामा उषा रजक देखिएकी छन्।
निर्देशक मिराज भन्छन्, “फिल्मको कथा लालिमाको कठिन यात्रासँग सम्बन्धित छ। एक घटनापछि बोल्न नसक्ने आमा कारागार पुग्छिन्। आमालाई मुक्त गराउने संघर्षमा लालिमा सहरको कठोर र अँध्यारो यथार्थतर्फ धकेलिन्छिन्। त्यसक्रममा उनी शारीरिक, भावनात्मक र मानसिक पीडासँग जुध्न बाध्य हुन्छिन्।”
सार्वजनिक पोस्टरमा रोशनी कार्कीलाई एकल रूपमा प्रस्तुत गरिएको छ। उनी झ्यालको छेउमा संकटग्रस्त मुद्रामा बसेकी देखिन्छिन्, जसले फिल्मको गम्भीर भाव र कथाको द्वन्द्व संकेत गर्छ।
निर्देशकका अनुसार ‘लालिमा’ केवल पीडाको कथा नभई शोषण र संरचनागत अन्यायविरुद्ध नझुक्ने मानवीय साहसको कथा पनि हो।
फेथ आस्था र एम्पिफाई चेन्जको सहकार्यमा निर्माण भएको यस फिल्मकी कार्यकारी निर्माता रीना लामा हुन्। फिल्मको लेखन स्वयं निर्देशक मिराजले गरेका छन्।
