काठमाडौं – अभिनेता निखिल उप्रेती र अभिनेत्री वर्षा सिवाकोटीको मुख्य भूमिका रहने फिल्म ‘कस्तुरी’को शुभ मुहूर्त सम्पन्न भएको छ। मंगलबार बिहान ललितपुरस्थित बंगलामुखी मन्दिरमा पूजा गर्दै फिल्मको औपचारिक सुरुवातसँगै छायांकन पनि थालिएको हो।
निर्देशक ऋत बोहोराले शुभमुहूर्त कार्यक्रममा बोल्दै फिल्मको छायांकन आजैबाट सुरु गरिएको जानकारी दिए। उनका अनुसार फिल्मको अधिकांश छायांकन काठमाडौं र आसपासका क्षेत्रमा गरिनेछ।
निर्देशक बोहोराले ‘कस्तुरी’ रहस्य, सस्पेन्स र अपराधका गहिरा तहहरू उजागर गर्ने कथामा आधारित रहेको बताए। यस फिल्ममार्फत निखिल उप्रेती र वर्षा सिवाकोटीले पहिलो पटक स्क्रिन सेयर गर्न लागेका हुन्, जसले दर्शकमाझ उत्सुकता बढाएको छ।
फिल्ममा निखिल र वर्षासँगै शेखर चापागाईं, निर्मल शर्मा, नीशा अधिकारी, अर्जुन गुरुङ, भोलाराज सापकोटा, सबी थापा, प्रशान्त केसी, सन्तोष बानियाँ, सुवास बंञ्जन, मिरा पण्डित, घनश्याम जोशी, श्रेया श्रेष्ठ, प्रतिष्ठा थापा, नेहा गौतम अभिनय गर्नेछन्। विशेष भूमिकामा गौरव पहारी र हेना नगरकोटी देखिनेछन्।
टेन इन्टरटेनमेन्ट प्रा.लि.को ब्यानरमा निर्माण हुन लागेको यस फिल्मको कथा निर्देशक ऋत बोहोराले नै लेखेका हुन्। निर्माता धिरज कुमार अग्रवाल हुन् भने सह–निर्मातामा अञ्जली चौधरी रहेकी छन्। छायाँकार आलोक शुक्ला रहेका छन् भने प्रमुख सह–निर्देशक ललित बिष्ट हुनेछन्। फिल्मको संगीत प्रशान्त शिवाकोटीले तयार पार्नेछन् भने निर्माण व्यवस्थापन दिलीप पन्तले सम्हाल्नेछन्।