अभिनेता विपिन कार्की र अभिनेत्री मिरुना मगरको मुख्य भूमिका रहेको बहुप्रतीक्षित सिनेमा ‘ऊनको स्वीटर’ को प्रदर्शन मिति घोषणा गरिएको छ।
सोमबार सार्वजनिक गरिएको पोस्टरमार्फत आगामी बैशाख २६ गते सिनेमाको प्रदर्शन हुने जानकारी दिइएको हो।
सार्वजनिक पोस्टरमा विपिन कार्कीलाई डोको बोक्दै डायरी समातेको भावमा प्रस्तुत गरिएको छ भने मिरुना मगरलाई मन्द मुस्कानमा खुशी देखाइएको छ।
सिनेमामा विपिन र मिरुनासँगै सुनिल पोखरेल, माओत्से गुरुङ, विल्सन विक्रम राई, प्रेम सुब्बा, एलेक्स पारस, परीक्षा लिम्बु, सुरज तमू, शारदा देवी सिलवाल, भावना खपाङ्गी मगरलगायतका कलाकारको अभिनय रहेको छ।
‘ऊनको स्वीटर’ लाई नवीन चौहानले निर्देशन गरेका छन्, जसका लागि यो डेब्यु निर्देशन हो। चौहानले यसअघि निर्देशन गरेका चर्चित म्युजिक भिडियोहरू, जस्तै ‘घुमी घुमी’, ‘देखेर तिमीलाई’, ‘तीनपाते’, ‘फूलथुङ्गे रानी’ र ‘चन्द्रमा’,ले ठूलो लोकप्रियता कमाएका थिए। सिनेमाको कथा पनि चौहानले नै लेखेका हुन्, जसमा सुरज कटुवालले सहकार्य गरेका छन्।
सिनेमाको सम्पूर्ण छायांकन पाँचथर र नेपाल-भारत सीमाना फालेलुङमा गरिएको हो। यसै सिनेमाको ओएसटी गीत ‘फूल’ पहिले नै हिट भइसकेको छ।
सिनेमाका संगीत निर्देशक सुजन चापागाईं र ब्याकग्राउण्ड म्युजिक निर्देशक कोबिद बज्र हुन्। गीतकारमा हर्क साउद र युवराज काफ्ले रहेका छन् भने संगीतमा झुमा लिम्बु पनि समावेश छिन्।
एशोसियट निर्माताका रूपमा केन्द्र मोशन पिक्चर्स, र सह-निर्मातामा साहाङ चेम्जोङ, आशिष रिजाल, राजकुमार राई, प्रकाश बस्नेत, सन्तोष न्यौपाने रहेका छन्। कार्यकारी निर्मातामा सागर बुढाथोकी र मिलन खत्री छन्।
सिनेमाको कोरियोग्राफी रोशन विक र डिप गुरुङ, छायांकन चिन्तन राजभण्डारी, र सम्पादन कृष्ण भण्डारीले गरेका छन्। सिनेमालाई काफिया फिल्मस् र कुबेर सिने डिस्ट्रीब्युसनले वितरण गर्नेछ।
सिनेमाले विपिन र मिरुनाको केमिस्ट्री, ग्रामीण कथा, र उत्कृष्ट सिनेमाटोग्राफीको साथमा दर्शकलाई नयाँ अनुभव दिने अपेक्षा गरिएको छ।
