आधुनिक लभस्टोरी ‘फ्रेन्च किस’मा रेखा थापाको इन्ट्री, चितवनमा धमाधम छायांकन

0 Shares

काठमाडौं – सुपरस्टार अभिनेत्री रेखा थापा आधुनिक प्रेमकथा आधारित सिनेमा ‘फ्रेन्च किस’मा आबद्ध भएकी छन्। निर्माण पक्षले छायांकनरत चलचित्रमा उनलाई अनुबन्ध गरिएको जानकारी दिएको हो।

केही दिनयता चितवनका विभिन्न स्थानमा चलचित्रको छायांकन भइरहेको छ। नयाँ पुस्ताको स्वादअनुसार तयार भइरहेको लभस्टोरी ‘फ्रेन्च किस’मा रेखाको प्रवेशसँगै फिल्म थप सशक्त र प्रतिक्षित बन्ने कार्यकारी निर्माता सौगात बस्नेतको विश्वास छ।

बस्नेतले भने, “रेखा थापा लामो समयदेखि नेपाली चलचित्र क्षेत्रमा निरन्तर सक्रिय र लोकप्रिय कलाकार हुनुहुन्छ। उहाँको दमदार अभिनय र प्रभावशाली उपस्थितिले चलचित्रलाई थप मजबुत बनाउनेछ। ‘फ्रेन्च किस’मार्फत उहाँ नयाँ पुस्ताको प्रेमकथामा फरक ढंगले प्रस्तुत हुनुहुनेछ।”

निर्माण टिमले रेखाको अनुभव र स्टारडमले चलचित्रलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा विशेष चर्चा दिलाउने अपेक्षा गरेको छ।

ए.टी.एफ. प्रोडक्सन प्रा.लि.को ब्यानरमा निर्माण भइरहेको यस चलचित्रलाई अभिनेता अर्पण थापाले निर्देशन गरिरहेका छन्। चलचित्रमा अर्पण स्वयं, ‘शाम्बाला’ फेम्ड अभिनेत्री थिन्ले ल्हामो र अभिनेत्री गौरी मल्ल मुख्य भूमिकामा छन्।

कार्यकारी निर्माता सौगात बस्नेत र सह–निर्माता सुभाष बी. शाही रहेका छन्। सुदीप बरालको सिनेमेटोग्राफी र चर्चित गायक तथा संगीतकार दीपक बज्राचार्यको संगीत रहनेछ।

रोयल भीमसेन (ट्राइडेन्ट कन्सेप्ट)ले पब्लिसिटी डिजाइन सम्हालेको ‘फ्रेन्च किस’ सन् २०२६ भित्र प्रदर्शनमा ल्याउने लक्ष्य राखिएको छ।

सम्बन्धित समाचार

सबै