काठमाडौं – नेपालमा गत साता रिलिज भएको नेपाली चलचित्र ‘कुमारी’ भोलि (१२ फेब्रुअरी)देखि अन्तर्राष्ट्रिय बजारमा प्रदर्शनमा आउने भएको छ।
अस्ट्रेलिया र मध्यपूर्वका विभिन्न देशहरूमा चलचित्रको आधिकारिक बक्स अफिस रिलिज हुने भएको हो।
वितरकका अनुसार अस्ट्रेलिया र मध्यपूर्वमा अग्रिम टिकट बिक्री उत्साहजनक रहेको छ। नेपालमा समीक्षक तथा दर्शकबाट राम्रो प्रतिक्रिया पाएको ‘कुमारी’ यस वर्ष सर्वाधिक मन पराइएको चलचित्रमध्ये एक मानिएको छ।
थ्री केजी इभेन्ट्स र असकास्ट नेपालमार्फत अस्ट्रेलियामा वितरण भइरहेको ‘कुमारी’ न्यू साउथ वेल्स (बरउड, हर्नस्बी, हर्स्टभिल, पारामान्टा), भिक्टोरिया (भिलेज सिनेमा सनसाइन, एयरपोर्ट वेस्ट), क्विन्सल्याण्ड (इभेन्ट सिनेमा चेर्मासाइड), एडिलेड (इभेन्ट सिनेमा म्यारियन), तस्मानिया (भिलेज सिनेमा ग्लेनर्ची) र पर्थ (इभेन्ट सिनेमा इनालु)मा प्रदर्शन हुनेछ। अन्य सहरहरूमा पनि क्रमशः रिलिज विस्तार गरिने जनाइएको छ।
त्यस्तै, नेपफिल्मको व्यवस्थापनमा युएई, बहराइन र कतारका प्रमुख सहरहरूमा पनि चलचित्र प्रदर्शन हुनेछ।
निर्माता महेन्द्र अधिकारीका अनुसार अमेरिका र क्यानडामा पनि रिलिजको तयारी भइरहेको छ। अमेरिकामा आत्रेय प्रोडक्सन र कोसेली कोडोराडो तथा क्यानडामा मेरो इभेन्ट्समार्फत प्रदर्शन गरिनेछ।
दिनेश राउत निर्देशित यस चलचित्रबाट अभिनेताद्वय अबिषेक खड्का र आकृति राजभण्डारीले डेब्यु गरेका छन्। विकास सुवेदीको लेखन रहेको चलचित्रको चर्चित गीत ‘डोको बुन्ने’ अहिले दर्शकमाझ लोकप्रिय छ। विनिश इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको ‘कुमारी’ एक युवतीको जीवन संघर्ष र प्रेमकथामा आधारित छ।