चलचित्र विकास बोर्डद्वारा एकहप्ते घोडचढी तालिम, चर्चित कलाकारहरूको सहभागिता

0 Shares

काठमाडौं – चलचित्र विकास बोर्डले ‘चलचित्रकर्मी दक्षता अभिवृद्धि वर्ष–२०८२’को अवसर पारेर नेपाली चलचित्र क्षेत्रका कलाकारहरूको सीप विकास गर्ने उद्देश्यसहित एकहप्ते घोडचढी तालिम सुरु गरेको छ।

ऐतिहासिक, पौराणिक, एक्शन तथा साहसिक चलचित्र निर्माणमा घोडचढीलाई अत्यावश्यक सीपका रूपमा लिइँदै आएको सन्दर्भमा कलाकार तथा स्टन्ट आर्टिस्टलाई सुरक्षित, अनुशासित र व्यावसायिक बनाउने लक्ष्यसहित बोर्डले तालिम आयोजना गरेको हो।

तालिममा चर्चित कलाकार विजय बराल, नाजिर हुसेन, कविता नेपाली, विशाल पहाडी, एवन उप्रेती, दिनेश खड्का, सरिता भारती, अरुण बहादुर स्याङ्तान (लामा), श्रीदेव भट्टराई, गोपाल ढकाल (छन्दे) लगायत पर्दाअगाडिका विभिन्न चलचित्रकर्मीहरूको सक्रिय सहभागिता रहेको छ।

भक्तपुरको निकोसेरास्थित ह्वाइट हाउस एग्रो भिल्लामा सञ्चालन भइरहेको तालिम प्रशिक्षक सुरेश ठकुरी र उहाँको टोलीले प्रदान गरिरहेका छन्। तालिम अवधिभर सहभागीहरूलाई घोडासँग तालमेल, व्यावहारिक अभ्यास, सुरक्षा मापदण्ड तथा आधारभूत सीपसम्बन्धी प्रशिक्षण दिइँदैछ।

बोर्डका अनुसार यस्ता सीपमूलक कार्यक्रमले नेपाली चलचित्र उद्योगको उत्पादन गुणस्तर अभिवृद्धि गर्नुका साथै कलाकार र प्राविधिकहरूको सुरक्षा, व्यावसायिकता र आत्मनिर्भरता बढाउने अपेक्षा गरिएको छ।

यसैबीच, चलचित्र विकास बोर्डले आगामी हप्ता पर्दाअगाडिका कलाकारहरूका लागि पौडी तालिम पनि सञ्चालन गर्ने तयारी गरेको जनाएको छ।

सम्बन्धित समाचार

सबै