‘बिगुल’ प्रिमियर, बालेनलाई सम्झिदैं चिरिबाबुले दिए यस्तो कडा प्रतिक्रिया

0 Shares

ललितपुर – प्रदर्शन तयारीमा रहेको ‘बिगुल’ले आफ्नो प्रिमियरमा सकारात्मक प्रतिक्रिया पाएको छ। मंगलबार बेलुका ललितपुरको लाबिम हलमा आयोजित कार्यक्रममा जनप्रतिनिधि, राजनीतिक विश्लेषक, संचारकर्मी र कास्ट एन्ड क्रूको सहभागिता रहेको थियो।

ललितपुर महानगरका नगरप्रमुख चिरिबाबु महर्जनले फिल्मको मुक्तकण्ठले प्रशंसा गर्दै आफूले अहिलेसम्म देखेको उत्कृष्ट फिल्म भन्दै गौरव प्रकट गरे। उनले भने, “फिल्म हेर्दा झन्डै आँसु आएन, थामेँ मैले। एकदमै राम्रो, समसामयिक, जनता जनार्दनको मन छुने खालको फिल्म छ। यो किसिमको जनताको प्रतिनिधित्व सायदै कमै होला।”

चिरिबाबुले आफ्नै राजनीतिक अनुभवसँग तुलना गर्दै भने, “म भावविह्वल भएँ। म पनि पहिलो चुनावको बेला अन्डरग्राउन्ड भएर बसेको थिएँ। अत्यन्त मार्मिक, क्याची, यस्तो राम्रो प्रस्तुति भएको फिल्म मैले अहिलेसम्म देखेको छैन।”

उनले आगामी चुनाव परिवर्तिन परिस्थितीमा अघि बढेको बताए र कांग्रेसबाट युवायुवतीले टिकट पाएको राम्रो संकेत भएको बताए। साथै उनले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहप्रति कटाक्ष गर्दै भने, “मलाई जनताले ५ वर्षको लागि पत्याएको हो। साढे ३ वर्षमै म भागेँ भने त मैले जनतालाई चित्त बुझ्ने काम नगरेको होला नि। तसर्थ अवधि पूरा गरेर गएको भए राम्रो हुन्छ।”

अभिनेता मदानकृष्ण श्रेष्ठले पनि फिल्मको प्रशंसा गर्दै भने, “फिल्मले जेनजी आन्दोलनको लागि धेरै टेवा दिन्छ। वर्तमान समय सन्दर्भलाई चित्रण गरेको छ। समसामयिक विषय छ। हेर्नेलाई मजा आउँछ। फिल्म जोशिलो र होसिलो छ।”

प्रिमियरमा पूर्वसचिव भीम उपाध्याय, वरिष्ठ पत्रकार किशोर नेपाल, राजनीतिक विश्लेषक मुमाराम खनाल, कलाकारहरू पुष्प खड्का, सवीर श्रेष्ठ लगायत सहभागी थिए। फिल्मका निर्माता दिनेश कोइराला, निर्देशक रमेश कोइराला, कलाकारहरू बेनीसा हमाल, नरेन खड्का, विनोद न्यौपाने लगायत पनि उपस्थित थिए।

राजनीतिक कथावस्तुमा आधारित ‘बिगुल’ प्रदर्शन तयारीमा रहेको छ र १ फागुनबाट हलमा रिलिज हुने तयारी छ।

सम्बन्धित समाचार

सबै