काठमाडौं – फिल्म ‘आ बाट आमा’को शीर्ष गीत ‘लैजा खबर ए हावा’ को कभर गाएर बर्दियाका दिप्सु परियारले ५१ हजार रुपैयाँ पुरस्कार जितेका छन्। उनलाई फिल्मका निर्देशक चन्द्र पन्त, अभिनेता पल शाह, उषा उप्रेती, र सिम्रन पन्तले पुरस्कार प्रदान गरेका हुन्।
निर्देशक चन्द्र पन्तले भने, “बर्दियाको बासगढीका दिप्सु परियारलाई हामीले घोषणा गरे बमोजिम ५१ हजार रुपैयाँ पुरस्कार स्वरुप प्रदान गरेका हौँ।”
एक महिनाअघि ‘आ बाट आमा’ निर्माण टिमले उक्त गीतमा आधारित कभर गान र अभिनय प्रतियोगिता घोषणा गरेको थियो। प्रतियोगितामा सहभागीहरूले माघ १२ गतेभित्र टिकटकमा आफ्नो भिडियो अपलोड गर्नुपर्ने नियम राखिएको थियो। यही बमोजिम दिप्सुले पुरस्कार जितेका हुन्।
आर्य इन्टरटेनमेन्टको प्रस्तुतिमा बनेको फिल्म ‘आ बाट आमा’को उक्त गीत हाल सामाजिक सञ्जालमा चर्चामा छ। निर्देशक पन्तकै कथा र पटकथामा बनेको यस फिल्ममा विपना थापा, पल शाह, प्रदीप रावत, उषा उप्रेती, सिम्रन पन्त, साइग्रेस पोखरेल, गजित बिष्ट, बेगम नेपाली लगायत कलाकारको मुख्य भूमिका रहेको छ। माघ १६ गतेबाट हलमा प्रदर्शन भइरहेको यो फिल्मले सुपरहिट सफलता हासिल गरिसकेको छ।
फिल्मको संगीत कोशिश क्षेत्री, बाबुल गिरी, थानेश्वर गौतमले दिएका छन् भने गीतमा कोरियोग्राफी गंभीर बिष्ट र दिलिप ओखेडाले गरेका छन्। डीओपी नवराज उप्रेती रहेको फिल्ममा संवाद अभिमन्यू निरवीले लेखेका छन्। अमर न्यौपाने, अभिमन्यू निरवी र चन्द्र पन्तले संवादमा सहकार्य गरेका छन्।