काठमाडौं । सलोन–सलिना फिल्म्सको ब्यानरमा नयाँ नेपाली फिल्म निर्माण हुने भएको छ। फिल्मको प्रस्तोता ए टु जेड क्लिनिङ सप्लायर्स (अस्ट्रेलिया)का तर्फबाट कृष्ण थापा रहनेछन्। निर्माण टिमका अनुसार फिल्मको नाम केही दिनमै औपचारिक रूपमा सार्वजनिक गरिनेछ।
फिल्मको कथा तथा निर्देशन शोभित बस्नेतले गर्नेछन्। कार्यकारी निर्माताको भूमिकामा नवीन घायल छन् भने सह–निर्मातामा हिमाल भण्डारी रहनेछन्। क्यामेरा सम्हाल्ने जिम्मेवारी सौरभ लामालाई दिइएको छ भने द्वन्द निर्देशन हिमाल केसीले गर्नेछन्। यसै फिल्ममार्फत केसी फिल्म क्षेत्रमा पुनरागमन गर्न लागेका हुन्। उनले यसअघि फिल्म पिताम्बरमा काम गरेका थिए।
निर्माण योजनाअनुसार फिल्मको ६० प्रतिशत छायांकन अस्ट्रेलियामा र बाँकी ४० प्रतिशत नेपालको जुम्लामा गरिनेछ। कलाकार तथा अन्य प्राविधिक टिम केही दिनभित्रै अन्तिम टुंगोमा पुर्याइने निर्माण पक्षले जनाएको छ।
निर्देशक बस्नेतले आगामी मार्च २० देखि ‘कमेडी दरबार’ टिमलाई एक महिनाका लागि अस्ट्रेलिया टुरमा लैजाने तयारीसमेत गरेका छन्। सो टुर सम्पन्न भएलगत्तै फिल्मको छायांकन सुरु गरिनेछ। यसअघि अस्ट्रेलियामा छायांकन भएको ‘पि आर’ फिल्मका केही कलाकार दोहोरिने सम्भावना रहेको छ। फिल्ममा दुई नायक र दुई नायिका रहनेछन्, जसमा एक नायक र एक नायिका चर्चित अनुहार हुने निर्देशक बस्नेतले जानकारी दिए।