काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष स्वर्गीय दिनेश सिटौलाको १३औँ दिनको पुण्यतिथिका अवसरमा संघले श्रद्धाञ्जली सभा आयोजना गर्दै उहाँको स्मृतिमा अक्षय कोष स्थापना गर्ने घोषणा गरेको छ।
संघका अध्यक्ष समीर बलामीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिका रूपमा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी उपस्थित हुनुहुन्थ्यो। कार्यक्रममा स्व. सिटौलाको तस्बिरमा माल्यार्पण गर्दै वरिष्ठ पत्रकार तथा कलाकारहरूले श्रद्धाञ्जली अर्पण गरेका थिए।
कार्यक्रममा अध्यक्ष बलामीले कम्तीमा १० लाख रुपैयाँभन्दा माथिको अक्षय कोष स्थापना गरिने जानकारी दिँदै हरेक वर्ष माघ १८ गते स्व. सिटौलाको स्मृतिमा विशेष कार्यक्रम आयोजना गरिने तथा संघको वार्षिक उत्सवका अवसरमा ‘स्व. दिनेश सिटौला चलचित्र पत्रकारिता स्मृति पुरस्कार’ प्रदान गर्ने उद्देश्य राखिएको बताउनुभयो।
प्रमुख अतिथि डिसीले स्व. सिटौलाको नेपाली फिल्म उद्योग र चलचित्र पत्रकारितामा रहेको योगदानको स्मरण गर्दै सबैलाई अक्षय कोषमा सहयोग गर्न अपिल गर्नुभयो। उहाँले बोर्डको तर्फबाट रु. ५१ हजार सहयोग प्रदान गर्ने घोषणा गर्नुभयो।
त्यसैगरी, नेपाल चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलाले स्व. सिटौला मिलनसार, सहयोगी र सकारात्मक व्यक्तित्व भएको उल्लेख गर्दै व्यक्तिगत रूपमा रु. १० हजार सहयोग प्रदान गर्नुभयो।
कार्यक्रममा संघका पूर्व अध्यक्ष विदुर गिरी, सल्लाहकार डब्बु क्षेत्री तथा वरिष्ठ चलचित्र पत्रकारहरू ध्रुव लम्साल, जयन सुब्बा मानन्धर, कृष्ण भट्टराई, दीपज्योति थापा, रोयल आचार्यलगायतले स्व. सिटौलाको योगदानको स्मरण गरेका थिए। कार्यक्रमको सञ्चालन महासचिव रघुनाथ सापकोटाले गर्नुभएको थियो भने समापन उपाध्यक्ष कुवेर गिरीले गर्नुभएको थियो।
स्थापित अक्षय कोषमा विभिन्न संघ–संस्था तथा व्यक्तिहरूले सहयोग घोषणा गरेका छन्। ओएसआर डिजिटलले रु. ३१ हजार, चलचित्र लेखक प्रदीप भारद्वाजले रु. २५ हजार, निर्माता सरोज वली र मोहितवंश आचार्यले रु. २५ हजार, षट्कोण आट्र्सले रु. २५ हजार, दिलासा क्रिएसनका तर्फबाट वरिष्ठ पत्रकार लक्ष्मण सुवेदीले रु. ११ हजार तथा चलचित्र राम नाम सत्य टिमले रु. १० हजार सहयोग घोषणा गरेका छन्। यसअघि नै तीन लाख रुपैयाँभन्दा बढी सहयोग संकलन भइसकेको संघले जनाएको छ।
यसैबीच, प्रदर्शनको ५१औँ दिनको अवसरमा चलचित्र झरी पछिको इन्द्रेणी टिमले अक्षय कोषका लागि रु. १० लाख सहयोग गर्ने प्रतिबद्धता जनाएको संघले जानकारी दिएको छ। कोषमा सहयोग गर्ने सम्पूर्ण दाताहरूको विवरण क्रमशः सार्वजनिक गरिने जनाइएको छ।