नयाँ वर्षमा प्रदर्शित हुने ‘पहाड’: युवा पलायन र समाजको यथार्थ समेटिएको कथा

0 Shares

काठमाडौं — निर्देशक तुलसी घिमिरेको निर्देशनमा तयार भएको नेपाली फिल्म पहाड आगामी नयाँ वर्ष २०८३ वैशाख १ बाट प्रदर्शनमा आउने भएको छ।

फिल्मले युवा जनशक्तिको विदेश पलायनले खाली भएका पहाड र त्यसले ल्याउने सामाजिक तथा आर्थिक चुनौतीलाई चित्रण गरेको छ। निर्देशक घिमिरेले फिल्मको कथावस्तु सामाजिक यथार्थ र पारिवारिक मूल्यमा आधारित रहेको बताए।

“वितरकसँग छलफल गरेर प्रदर्शनको मिति तय गरेका हौँ। नेपाल र अन्तर्राष्ट्रिय बजारका लागि उपयुक्त समय र बाँकी काम पुरा गर्ने अवधि मिलाएर डेट निर्धारण गरिएको हो। फिल्म पारिवारिक भएकाले स–परिवार हलमा हेर्न मिल्ने समयमा प्रदर्शन गरिँदैछ,” निर्देशक घिमिरेले भने।

‘बलिदान’ पछि मदनकृष्ण श्रेष्ठ, ‘चिनो’ पछि सुनिल थापासँग काम गरेको अनुभवले नयाँ र पुरानो पुस्तासँग सहकार्य सफल हुनेमा विश्वस्त रहेको उनले बताए।

“मानव बसोबासविहीन बनेको उच्च पहाडको कथा फिल्मले प्रस्तुत गर्छ। दर्शकले हेरिरहँदा आफ्नोपन र आफ्नै कथाको अनुभूति पाउनु हुनेछ। नयाँदेखि पुराना पुस्तासम्मलाई समेटेर काम गर्न पाउँदा उत्साहित छु,” उनले थपे।

फिल्मका निर्माता ओजस्वी केसी, छायांकन प्रमोद प्रधानले गरेका छन्। भारतमा फिल्म, वेबसिरिज र टेलीफिल्म छायांकन गरिसकेका प्रमोद प्रधानले निर्देशक घिमिरेसँग ‘अन्याय’, ‘कोसेली’, ‘चिनो’ र ‘दक्षिणा’मा सहकार्य गरेका थिए।

भाग्यरत्न फिल्म्स प्रालिको ब्यानरमा निर्माण भएको यस फिल्ममा विपीन कार्की, सुनिल थापा, मदनकृष्ण श्रेष्ठ, रेनुनाथ योगी, अरुण क्षेत्री, रवीन्द्रसिंह बानियाँ, सलोना बज्राचार्य लगायतका कलाकारको अभिनय रहेको छ।

निर्देशक घिमिरेकी कान्छी छोरी पञ्चमी घिमिरे यस फिल्ममार्फत अभिनेत्रीको रूपमा प्रस्तुत हुनेछन् भने जेठी छोरी भावना घिमिरेले प्रोडक्सन डिजाइनको जिम्मेवारी सम्हालेकी छिन्।

फिल्ममा रञ्जित गजमेर सङ्गीत निर्देशक र भारती घिमिरे क्रिएटिभ निर्देशक रहेका छन्। सह–निर्माता भने रिम्पोछे लामा थिङ्ग र सुरेश लामा थिङ्ग हुन्।

नेपालमा वैङ्कटेश इन्टरटेनमेन्ट र डायस्पोरामा सेभेन सिज इन्टरनेशनल फिल्म्सले वितरण गर्नेछन्। फिल्मको पब्लिसिटी डिजाइन रोयल भीमसेन र ट्राइडेन्ट कन्सेप्टले गरेका हुन्।

सम्बन्धित समाचार

सबै