काठमाडौं — फागुन २९ गतेलाई प्रदर्शन मिति तोकिएको लालिमा फिल्मको पहिलो गीत ‘तिमीलाई माया गर्छु’ सार्वजनिक गरिएको छ। निर्माण पक्षले आइतबार ओएसआर युट्युब च्यानलमार्फत गीत रिलिज गरेको हो।
गीतको भिडियोमा नायिका रोशनी कार्की र नायक जीवन भट्टराई मुख्य भूमिकामा देखिएका छन्। भिडियोमा उनीहरूबीचको द्वन्द्वपूर्ण रोमान्ससँगै रोशनीको चरित्रको संवेदनशील पाटो प्रस्तुत गरिएको छ, जहाँ उनी यौन व्यवसायमा संलग्न र मानसिक रूपमा विक्षिप्त अवस्थाबाट गुज्रिरहेको देखिन्छ।
गीतमा फिल्मका अन्य कलाकारहरू उषा रजक, शिशिर वाङ्देल र सुष्मा निरौलाका दृश्यहरू समेटिएका छन्, जसले फिल्मको कथावस्तु संकेत गर्छ।
गीतमा गायिका प्रीति कौरको स्वर रहेको छ। शब्द रोशन मिराज, केएम जोशी र कौरका हुन् भने संगीत, एरेन्ज, मिक्सिङ तथा मास्टरिङ जोशीले गरेका छन्।
रोशन मिराजको लेखन तथा निर्देशनमा बनेको यस फिल्ममा शिशिर वाङ्देल, जीवन भट्टराई, उषा रजक र सुष्मा निरौलालगायतको अभिनय रहेको छ।
फेथ आस्थाको प्रस्तुतिमा तयार भएको फिल्मकी कार्यकारी निर्माता रीना लामा हुन्।
प्रतिनिधिसभा चुनावपछिको पहिलो प्रदर्शन मितिमा, फागुन २९ गते हलमा रिलिज हुने ‘लालिमा’ हाल एक मात्र फिल्म हो।