के दुई वर्षाले छोडेको ‘कार्की साइँला’बाट ‘मुन्नी’को भाग्य खुल्न लागेको हो?

0 Shares

काठमाडौं : राजेन्द्र बस्नेतको निर्देशनमा निर्माण हुने फिल्म ‘कार्की साइँला’मा प्रियना आचार्य (मुन्नी)को इन्ट्री भएको छ। निर्माण टिमले अभिनेत्री आचार्यलाई अनुबन्ध गरेको हो। उनी अनुबन्ध भएसँगै निर्माण टिम छायांकनको तयारीमा जुटेको छ।

अब यो फिल्ममा अभिनेता जितु नेपालको जोडीको रूपमा प्रियना देखिनेछिन्। नेपालको पूर्वी जिल्ला धनकुटामा फिल्मको छायांकन हुने निर्माण पक्षले जनाएको छ।

फिल्मका निर्देशक राजेन्द्र बस्नेतले भने, “हाम्रो कथा अनुसार नै हामी धनकुटाका विभिन्न स्थानमा छायांकन गर्नेछौँ। ‘कार्की साइँला’को कथाले मागेअनुसार नै प्रियनालाई फिल्मका लागि अनुबन्ध गरेका हौँ। थप जानकारी केही दिनमै सार्वजनिक गर्नेछौँ।”

यस फिल्ममा जितु नेपाल र प्रियना आचार्यका अलावा सुशील पोखरेल, बिरेन्द्र सिंह कुशहुवा, मान्शी शर्मा, मनिल तामाङ, रेणुका आचार्य, दिप्सन लिम्बु, रोदा राई, कमल देवकोटा लगायत कलाकारहरूको अभिनय रहनेछ।

यस फिल्मको निर्माण घोषणा हुँदा वर्षा शिवाकोटी प्रमुख नायिकाका रूपमा अनुबन्धित भएकी थिइन्। तर विविध कारणले पूर्वनिर्धारित तालिकाअनुसार छायांकन सुरु हुन नसकेपछि उनले फिल्मबाट हात झिकिन्।

त्यसपछि निर्माण पक्षले विभिन्न नाममा विकल्प सोचे पनि अन्ततः प्रस्ताव वर्षा राउतसम्म पुगेको थियो। तर विविध कारणले गर्दा उनी पनि फिल्ममा अनुबन्धित हुन सकिनन्।

त्यसपछि यो फिल्म मुन्नीको पोल्टामा परेको बताइन्छ।

नाम पुरुषप्रधान भए पनि फिल्ममा प्रमुख महिला पात्रको समानान्तर रूपमा बलियो भूमिका रहेको चर्चा छ। प्रियना (मुन्नी)ले पाएको यो अवसरलाई प्रमुख अभिनेत्रीका रूपमा आफूलाई स्थापित गर्ने अवसरका रूपमा हेरिएको छ। यो फिल्म उनको अभिनय क्षमता देखाउने उपयुक्त माध्यम बन्ने अपेक्षा गरिएको छ।

फिल्मलाई लिएर मुख्य अभिनेता जितु नेपालसमेत उत्तिकै आशावादी रहेको बताइन्छ। उनले फिल्मको स्क्रिप्टमा कुनै कमजोरी नरहोस् भन्ने विषयमा सक्रिय रूपमा ध्यान दिएको जानकारी प्राप्त भएको छ।

‘लाज शरणम्’मा सानो भूमिकामा देखिएकी मुन्नीको पछिल्लो रिलिज ‘झरिपछिको इन्द्रेणी’ हो भने उनी अभिनित ‘कल्ली’ रिलिजको क्रममा रहेको छ।

कर्णबहादुर फिल्म्स प्रालिको ब्यानरमा निर्माण हुने यस फिल्ममा बालकुमार राई निर्माता रहेका छन्। कृष्ण भगत चाम्लिङको प्रस्तुति रहेको यस फिल्ममा मुख्य सहायक निर्देशक रोजल थापा रहेका छन् भने छायांकन डम्बर राईले गर्नेछन्। द्वन्द निर्देशन किरण दाहालको रहनेछ भने संगीत दिप्सन लिम्बुको र प्रोडक्सन सिबी भण्डारीको रहनेछ।

सम्बन्धित समाचार

सबै