काठमाडौं। पूर्वनिर्धारित मितिमा फिल्म ‘चमेलीको पोइ’ प्रदर्शन नहुने भएको छ। निर्देशक एभरेष्ट सूर्य बोहराको निर्देशनमा तयार भएको यो फिल्म रामनवमीको अवसर पारेर १३ चैत्रमा प्रदर्शन गर्ने तयारी थियो। तर देशको वर्तमान राजनीतिक अवस्था र निर्वाचनको परिवेशलाई मध्यनजर गर्दै रिलिज स्थगित गरिएको बिहीबार जारी प्रेस विज्ञप्तिमा उल्लेख छ।
धन लक्ष्मी सिने मेकर्सको ब्यानरमा निर्माण भएको फिल्मको नयाँ प्रदर्शन मिति छिट्टै सार्वजनिक गरिने निर्माण पक्षले जनाएको छ। निर्माता रामनारायण उपाध्यायले भिडियो सन्देशमार्फत निर्देशक बोहरा र टिमले समयमै फिल्म निर्माण सम्पन्न गरेकोमा आभार व्यक्त गरेका छन्।
हालै सार्वजनिक गरिएको फर्स्टलुक पोस्टरले चर्चा पाएको फिल्मलाई शान्तिपूर्ण वातावरणमा दर्शकमाझ ल्याउने योजनामा निर्माण टिम रहेको जनाइएको छ।
निर्देशक बोहराकै कथा, शिवम अधिकारीको पटकथा र शेरबहादुर तामाङको छायांकन रहेको फिल्मका निर्माता सुनीता सापकोटा र रामनारायण उपाध्याय हुन्। कार्यकारी निर्मातामा उदयबिक्रम राणा, रितु मल्ल ठकुरी र कपिल आचार्य रहेका छन् भने सह–निर्मातामा प्रदीपकुमार सापकोटा, यमप्रसाद ओली र सुदीप कुँवर रहेका छन्।
फिल्ममा नारायण त्रिपाठी, सुरक्षा पन्त, मुकुन भुसाल, विल्सन विक्रम राई, रविन्द्र झालगायत कलाकारहरूको अभिनय रहेको छ। फिल्मलाई आरआर फिल्मसले वितरण गर्नेछ।