काठमाडौं। नेपाली डिजिटल मनोरञ्जन क्षेत्रमा नयाँ इतिहास रच्दै ओएसआर डिजिटलले १ करोड (१० मिलियन) सब्स्क्राइबर पार गरेको छ। यससँगै चलचित्र तथा संगीत इन्टरटेनमेन्ट श्रेणीअन्तर्गत युट्युबबाट डायमण्ड प्ले बटन प्राप्त गर्ने नेपालकै पहिलो च्यानल बनेको छ।
२५ वर्ष लामो यात्रामा भीसीडी र डीभीडीको युगदेखि डिजिटल प्लेटफर्मसम्मको रूपान्तरण पार गर्दै आएको ओएसआर डिजिटलले व्यावसायिक तथा आधिकारिक सामग्री उत्पादन र वितरण गर्दै नेपाली मनोरञ्जन सामग्रीलाई विश्वभर पुर्याउँदै आएको छ। १ करोड सब्स्क्राइबरको उपलब्धिसँगै यसको डिजिटल प्रभाव थप सुदृढ भएको छ।
यो उपलब्धि केवल अवार्डमा सीमित नभई नेपाली मनोरञ्जन उद्योगको अन्तर्राष्ट्रिय पहिचान र बढ्दो डिजिटल पहुँचको प्रमाणका रूपमा हेरिएको छ।
उक्त अवसरमा प्रबन्ध निर्देशक ओम अग्रवालले सम्पूर्ण दर्शक, कलाकार, संगीतकर्मी तथा टिमप्रति आभार व्यक्त गरे। उनले आगामी दिनमा अझ गुणस्तरीय र अन्तर्राष्ट्रिय स्तरका सामग्री ल्याउने प्रतिबद्धता व्यक्त गर्दै भने, “तपाईंहरूको हरेक भ्यु, लाइक र कमेन्ट नै हाम्रो ऊर्जा हो। दर्शकहरूको साथले आज यो यात्रालाई विशाल परिवारमा रूपान्तरण गरेको छ।”
ओएसआर डिजिटलले नेपाली चलचित्र, गीत–संगीत, वेब सिरिज तथा विविध मनोरञ्जनात्मक सामग्री नियमित रूपमा सार्वजनिक गर्दै डिजिटल बजारमा आफ्नो पकड बलियो बनाएको छ। साथै, कम्पनीले अन्तर्राष्ट्रिय दर्शकलाई लक्षित गर्दै सामग्री विस्तार गर्ने योजना अघि सारेको जनाएको छ।
यसका सहायक च्यानलहरू ओएसआर रियालिटी र ओएसआर मुभिज पनि सक्रिय रूपमा सञ्चालनमा रहेका छन्।
यस ऐतिहासिक सफलतासँगै सम्पूर्ण ओएसआर टिमलाई हार्दिक बधाई तथा आगामी दिनमा अझ ठूलो सफलताको शुभकामना।